महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

काठमाडौं । अफगानिस्तानको काबुलमा बिहीबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा कमी भएको समाचारहरु सार्वजनिक भएका छन्।

स्वास्थ्य सुविधामा कमी देखिएसँगै तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेको छ।

‘स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमित रूपमा आफ्नो काममा फर्कन भनेको छ। तालिबानको तर्फबाट उनीहरुको काममा कुनै बाधा हुने छैन।’ तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्वीटमा लेखेका छन्,

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि महिलाहरुलाई काम गर्न दिइन्छरु भन्दै प्रश्न उठ्ने गरेको छ।

काबुलमा प्रवेशपछि आफ्नो पहिलो प्रेस कन्फरेन्समा तालिबानका प्रवक्ताले महिलालाई शरिया कानुनमा भएको अधिकारमात्र मिल्ने बताएका थिए।

जबीउल्लाह मुजाहिदले भनेका थिए, ‘हामी शरिया व्यवस्था अनुसार महिलालाई हक प्रदान गर्न प्रतिबद्ध छौं। महिला हाम्रोसाथ काँधमा काँध मिलाएर काम गर्न जाने छन्। हामी अन्तरराष्ट्रीय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुको साथ कुनै भेदभाव हुने छैन।’

कयौं अन्य तालिबान नेताले पनि महिलालाई काम गर्न दिनेबारे बताइरहेका छन्। अहिलेसम्म कुनै स्पष्ट नीति आएको छैन।

तर, हालसालै राष्ट्रिय टेलिभिजन र रेडियो संस्थानमा महिलालाई काम गर्नबाट रोक लगाइएको समाचारहरु सार्वजनिक भएका छन्।

प्रतिक्रिया दिनुहोस