काङ्ग्रेसले रुवायो ,कम्युनिस्टले न्याय दियो बल्ल हाँसे रामबिलस

काठमाडौं । सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो ।

नेपालयनखबरसँग रामविलासले भने, ‘अब चाहिँ पैसा आउने आशा बढेको छ ।’

महतो उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गर्न केही दिनअघि काठमाडौं आएका हुन् । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो पीडा सञ्चारकर्मीलाई सुनाएका थिए । उनको यो रुवाई उखु कृषकहरुले भोगिरहेको पीडाको प्रतिबिम्ब झैं बनिरहेको छ ।

रामविलासले भनेका थिए, ‘अब के गर्ने हजुर ? यो मालिक त केही पनि पैसा दिँदैन ।’

हुन पनि अन्नपूर्ण सुगर मिलले उखुको पैसा नदिएपछि उनको घरजग्गा नै लिलाम हुने अवस्थामा पुगेको थियो । त्यसैले त उनी जीवनमा पहिलो पटक काठमाडौं आए, पसिनाको मूल्य माग गर्दै माइतीघरको सडकमै सुते ।

शुक्रबार पनि उनी माइतीघर मण्डलामा आन्दोलनमै थिए । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले किसानहरुको खातामा ५० लाख पठाएको जानकारी गराउँदै र बाँकी रकम पनि पुस २५ गतेभित्र दिने बाचा गरे । लगत्तै उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलनरत किसानहरुलाई वार्तामा बोलाए । वार्ता गर्न अरु किसान रामविलास पनि सिंहदरबार पुगे । किसानहरुले १२ बुँदे माग पत्र पेश गरे ।

केहीबेरको छलफलपछि पाँचबुँदे सहमति भयो, जसमा माघ ७ गतेभित्र किसानहरुको बाँकी रकम दिलाउन मन्त्रालयले पहल गर्ने पनि उल्लेख छ ।

रामविलास भन्छन्, ‘मन्त्रीजीले तपाईहरुको पैसा २/४ दिनमा मिलिहाल्छ भन्नुभयो, अब खुसी नहुने ?’

उनलाई सिंहदरबारमा पाँचबुँदे सहमति हुँदै गर्दा नै घरमा फोन गरेर खुसी साट्न मन लागेको रहेछ । तर गोजीबाट फोन निकाल्ने आँट आएन । उनले हाँस्दै भने, ‘मन्त्रालयबाट कसरी गर्नू । फोन गर्न सकिनँ ।’

उनले सञ्चारकर्मीलाई धन्यवाद दिए । उनले भोलि काठमाडौंमा बसेर आँखा जँचाउने र पर्सी घर फर्किने योजना बनाएका छन् ।

आज उधारो सहमतिमा खुशी भएर सिंहदरबारबाट निस्केका रामविलासहरु भोली फेरि माइतीघरको सडकमा सुत्न आउनु नपरोस् ।

प्रतिक्रिया दिनुहोस