दाङका युवा स्यानिटाइजर उत्पादन गर्न अग्रसर

दाङ :- दाङका युवा स्यानिटाइजर उत्पादन तिर लागेका छन्। कोभिड-१९को महामारीको न्यूनीकरणका लागि दाङको तुलसीपुरमा रहेका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादनको तयारी गरेका हुन्।
तुलसीपुर क्षेत्रमा रहेका जेसीज, रोट्याक, निजी अस्पताल, महिला उद्यमीले संयुक्तरुपमा स्यानिटाइजन उत्पादनको तयारी गरेका हुन। उनीहरुले अहिले उत्पादनको लागि तालिम लिइरहेका छन्। तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा तथा युएसएआइडीको आर्थिक सहयोगमा उनीहरुलाई स्नायीटाइजर उत्पादनका लागि तालिम दिइएको हो।
कोरोना भाइरस जोखिमलाई न्युनीकरण गर्नका लागि तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागेको ‘कोभिड-१९ विरुद्ध द्रुत प्रतिकार्यका लागि साझेदारबीच स्यानिटाइजन उत्पादन’कार्यक्रम अन्तरगत तालिम सुरु गरिएको छ।
तालिममा सहभागि ५० जना स्वयम्सेवी युवाले कम्तिमा एक हजार २ सय ५० लिटर स्यानिटाइजन उत्पादन गर्न लागेका हुन्। ‘यो अवस्थामा एउटा कामको सुरुवात गरेका छौँ’, कार्यक्रमका टिम लिडर तथा संघका सचिव विनिल केसीले भने, ‘उत्पादिक स्यानिटाइजन स्थानीय सरकारको समन्वयमा सबै वडामा निशुल्क रुपमा वितरण गरिने छ।’ पहिलो चरणमा पाइटल कार्यक्रमको रुपमा यो सञ्चालन गर्न लागिएको र सफल भएमा विस्तार गरिने केसीले बताए।
स्नानी टाइजर उत्पादन तालिममा सहभागि युवाहरुलाई कोरोना भाइरस जोखिम न्युनीकरणमा अपनाउनु पर्ने सावधानी, आपतकालिन अवस्थामा हुन सक्ने जोखिम र सावधानीका विषयमा समेत प्रशिक्षण गराइने प्रशिक्षक तथा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए।
तुलसीपुर उपमहानगरपालिकाका विपद व्यस्थापन समितिका संयोजक नवराज लामिछानेले विपदमा सरकारी निजी र गैर सरकारी संस्थाको सहकार्य अपरिहार्य रहेको बताए।
वडा अध्यक्ष विरेन्द्रकुमार शाह, संघका अध्यक्ष विर बहादुर रावत, निवर्तमान अध्यक्ष विमल रिजालले संघको सामाजिक उत्तरदायित्व अन्तरग यो कार्य गर्न लागिएको बताए। कार्यक्रमको सहजीकरण संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस