ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमकाे कप्तानमा नियुक्ति

काठमाडौं :- नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो । युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो ।
संक्रमणकालिन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाइ कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । तत्काल हुन लागेको एमसीसी विरुद्धको सिरीज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन । यसअघि पनिबारम्बार नेपाली टिमको कप्तानी गरिसकेका मल्लले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्ध र टी २० विश्वकप छनोटमा पारस खड्का घाइते भएपछि मलेसिया विरुद्ध कप्तानी गरेका थिए ।
हाल टिममा रहेका अनुभवी खेलाडीमा रहेका मल्लले सन् २००६ मा नामिबिया विरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका थिए । सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध एकदिवसिय खेलमा डेब्यु गर्ने खेलाडी समेत रहेका मल्ल अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सतक प्रहार गर्ने सात जना खेलाडीमा पर्छन । उनले सिंगापुर विरुद्ध एक सय २५ बलमा एक सय १४ रन बनाएका थिए । उनले यो सतक २०१४ मा सिंगापुर विरुद्ध हिर्काएका थिए ।
पारस खड्का अनुपस्थित भएको खेलमा नेपालको कप्तानी गरिसकेका मल्लले २००५ मा यू–१५ मा नेपालबाट खेलेका थिए । नेपाली क्रिकेटरमा क्लासिक ब्याट्सम्यानको परिचय बनाएका उनले अहिलेसम्म १५ वटा टी २० खेलेका छन ।

मल्ल २०१८ मा राष्ट्रिय टिमको उपकप्तान बनेका थिए । २०१८ मा एशिया कप क्वालिफायर्समा उनले टिमको उपकप्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस