समाजवादी पार्टीबाट सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं :-  समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको जानकारी दिए ।

प्रधानमन्त्री स्वयम आफुले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नु औचित्य सकिएको उनले बताए ।

‘सरकारमा सहभागि हुँदा संविधान संशोधन गर्ने गरी विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमि कमजोरी हटाउने भन्ने स्पष्ट सहमित भएको थियो । हामीले पटक पटक भन्यौँ । पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, उनले भने ।

अध्यक्ष यादवले सरकरलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको बताए ।

तराई मधेशका जिल्लाहरुमा तिव्र दमन भएरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उनले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताए ।

‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्ब सकिएको छ । शासकिय स्वरुप, निर्वाचन प्रणाली, समावेशीताको सवालमा हाम्रो पार्टीको असहमति हो’, अध्यक्ष यादवले भने ।

उनले राष्ट्रिय जनतापार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस