नेपालगन्ज नाइट रन विजेता थाइल्याण्डको समुद्री किनारमा दौडन तैयार

खेलकुद समाचार

नेपालगन्ज, । नेपालगन्ज १० नाइट रनका विजेताले अब थाइल्याण्डको विश्वस्तरीय दौड प्रतियोगिता ‘बाङ्सेन रन’मा सहभागी हुने अवसर पाउने भएका छन्।

नेपालगन्ज नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरो अजवानिचकर्नबीच भएको समझदारीपछि विजेतालाई यस्तो अवसर खुला भएको हो।

सम्झौताअनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी तथा अफिसियललाई बाङ्सेन सिरिजले निःशुल्क दर्ता, आतिथ्यसहित सुविधा उपलब्ध गराउनेछ। सोही ढंगले बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा हुने म्याराथनमा पनि त्यस्तै सुविधा दिइनेछ।

धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने, “यो सहमतिले नेपाली धावक, आयोजक र अफिसियललाई अन्तर्राष्ट्रिय स्तरमा सिक्ने अवसर प्रदान गर्नेछ। छिमेकी मुलुकमै विश्वस्तरीय प्रतियोगिता भइरहेको छ, यसको लाभ लिनेतर्फको अग्रसरता हो। यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई विशेष धन्यवाद दिन चाहन्छु।”

यस सम्झौताअनुसार बाङ्सेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा समेत सहभागी गराइनेछ। यी सबै कार्यक्रम नेपालगन्ज म्याराथनकै सिरिज अन्तर्गत पर्छन्।

समुद्री किनारमा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा हरेक वर्ष तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट हुने गर्दछ। बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभल, बाङ्सेन ४२ र बाङ्सेन १० भने इलाइट लेभलका इभेन्ट हुन्।

नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगन्ज नाइट रन (एम्स–Association of International Marathon and Distance Race बाट प्रमाणीकरण) संविधान दिवसका अवसरमा असोज ३ गते हुने गर्दछ।

यसअघि नेपाल रन (यूके)सँगको सहकार्यमा नेपालगन्ज म्याराथनले दुई वर्षदेखि खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउँदै आएको छ। यस वर्षदेखि स्पेनको भ्यालेन्सिया म्याराथन र जापानको ओसाका म्याराथनमा समेत सहभागी गराउने तयारी भएको आयोजकले जनाएको छ।

धारा नेपालगन्ज म्याराथनको छातामुनि करिब आठवटा इभेन्ट वार्षिक रूपमा सञ्चालन हुन्छन्। यस अन्तर्गत असोज २८ गते गौघाट ग्रीन रन, कात्तिक १ गते राप्तीसोनारी नेचर रन, मंसिर ६ गते धारा नेपालगन्ज म्याराथन, त्यसको अघिल्लो दिन नेपालगन्ज कनक्लेव–५ आयोजना हुँदैछ। मंसिर अन्तिम शनिबार कर्णाली हाफ म्याराथन, मे १ मा काठमाडौं २५ के हेरिटेज रेस र अप्रिल मसान्तमा एम्ससँग सहकार्यमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुने तय भएको छ।

एम्सको दुईवटा पूर्णकालीन सदस्यता लिने नेपालगन्ज नेपालकै एकमात्र सहर बनेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *