दाङ । दङ्गीशरण गाउँपालिका–२ स्थित ऐतिहासिक राजाकोट पछिल्लो समय पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। यहाँबाट दाङको विस्तृत भूभागसँगै सिस्ने, पुथा र माछापुच्छ्रे हिमालको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। साथै बबई र राप्ती नदीदेखि बाँकेका मनमोहक भू–भाग पनि स्पष्ट देखिन्छन्, जसले राजाकोटलाई प्राकृतिक सुन्दरताको अद्वितीय चौतारी बनाएको छ।
राजाकोटलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल भइरहेको दङ्गीशरण–२ गोल्टाकुरीका युवा प्रकाश डाँगीले बताए।
“यो स्थान अवलोकनका हिसाबले निकै रमणीय छ। यहाँको सौन्दर्य र ऐतिहासिक पृष्ठभूमि दुवैले राजाकोटलाई आकर्षक गन्तव्य बनाउन सक्छ,” उनले भने।
स्थानीय बासिन्दा चक्रमिलन विश्वकर्माका अनुसार राजाकोट दङ्गीशरण राजाले औलो लागेको बेला विश्राम गर्ने स्थान थियो। त्यही ठाउँमा अहिले पुरानो टेलिकम टावर पनि रहेको छ, जसले यस क्षेत्रको ऐतिहासिक महत्त्व झल्काउँछ।
गोल्टाकुरी बजारबाट करिब पाँच किलोमिटर पैदल यात्रापछि राजाकोट पुग्न सकिन्छ। स्थानीय देवीराम कुसारीका अनुसार यो बाटो विगतमा रुकुम, सल्यान र रोल्पा जाने मुख्य व्यापारिक नाका ‘तिलकन्या पास’ को रूपमा परिचित थियो, जसले यस स्थानलाई सांस्कृतिक र ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ।
हालै शनिबार गोल्टाकुरीका युवाहरूले आयोजना गरेको ‘राजाकोट हाइकिङ’ कार्यक्रममा विभिन्न स्थानका आन्तरिक पर्यटकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीका अनुसार राजाकोटलाई आगामी दिनमा पर्यटकीय क्षेत्रका रूपमा औपचारिक रूपमा विकास गर्ने योजनामा पालिका अघि बढ्दैछ।
राजाकोटको आकर्षक भू–दृश्य, ऐतिहासिक सम्पर्क मार्ग र धार्मिक पृष्ठभूमिले यस स्थानलाई ‘दाङको नयाँ पर्यटकीय पहिचान’ बनाउन सक्ने विश्वास स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन्।
