जेनजी आन्दोलन र एमालेको प्रत्युत्तर, दाङमा राजनीतिक ताप बढ्दै

राजनीति समाचार

दाङ । जेनजी आन्दोलनपछि दाङको राजनीतिक वातावरण फेरि तातिएको छ। नेकपा (एमाले) दाङले आइतबार घोराहीमा ठूलो प्रदर्शन गर्दै सरकार र आन्दोलनकर्ताप्रति कडा सन्देश दिएको छ।

सचिव श्याम डाँगीका अनुसार प्रदर्शनको उद्देश्य “जेनजी आन्दोलनपछिको शान्ति पुनर्निर्माण र राष्ट्रिय एकता पुनर्जागरण” हो। उनका अनुसार एमालेका २३ वटा जनवर्गीय संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

ट्राफिक चोकबाट सुरु भएको जुलुस घोराही बजारका विभिन्न गल्ली–टोल परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा एमालेका विभिन्न संगठनका प्रतिनिधिहरूले सरकार र जेनजी आन्दोलनप्रति तीखा टिप्पणी गरेका थिए।

जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले कोणसभामा सम्बोधन गर्दै एमालेको संगठनात्मक शक्ति कमजोर नठान्न चेतावनी दिए।
उनले भने, “एमालेका कार्यकर्तालाई कम आँक्ने गल्ती नगर। आन्दोलनलाई अवसर ठानेर एमालेमाथि प्रतिशोध लिने प्रयास भयो भने परिणाम राम्रो हुने छैन।”

त्यसैगरी, राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजी आन्दोलनका मागहरूप्रति संघ सकरात्मक रहेको तर त्यसका नाममा फैलिएको अराजकताविरुद्ध युवा संघ सडकमा उत्रिएको बताए।
उनले भने, “निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूलाई राज्यले कारबाही नगरे युवाहरूले नै कारबाही गर्नेछन्।”

एमालेको प्रदर्शनमा सयौँ कार्यकर्ता सहभागी थिए। पार्टीले यसलाई “शान्ति पुनर्निर्माण जागरण” नाम दिएको थियो।
स्थानीयहरूले भने दाङमा पछिल्ला केही दिनदेखि जेनजी आन्दोलन र त्यसको प्रतिक्रियाले राजनीतिक ताप बढाएको बताइरहेका छन्।

एक स्थानीय शिक्षकले भने, “जेनजी आन्दोलनले युवाको आवाज बुलन्द गरेको छ, तर एमालेको प्रदर्शनले पुराना शक्तिहरू फेरि सक्रिय भएको संकेत दिएको छ।”

दाङमा अब आगामी राजनीतिक गतिविधि अझ रोचक हुने संकेत देखिएको छ, जहाँ जेनजी आन्दोलनका मुद्दा र एमालेको प्रत्युत्तरबीच प्रतिस्पर्धात्मक माहोल तीव्र हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *