अविसेक डाँगी ।
दाङको दंगिशरण–२ स्थित ऐतिहासिक राजाकोट केवल एउटा पहाड होइन, यो गाउँको पहिचान, इतिहास र आस्थाको साक्षी हो। तर विडम्बना दशकौँदेखि यसको भौगोलिक र ऐतिहासिक महत्व थाहा हुँदाहुँदै पनि राज्यका योजनामा यसको नाम क्वै छैन। यसबीच, स्थानीय युवाहरूले तिहारको अवसर पारेर ‘राजाकोट यात्रा’ आयोजना गर्ने निर्णय गरेका छन्, जसले पुनः यो ठाउँको महत्वलाई सार्वजनिक बहसमा ल्याएको छ।
राजाकोट केवल दृश्यावलोकनको ठाउँ होइन। यो पुरानो प्रशासनिक र धार्मिक केन्द्रको इतिहास बोकेको भूभाग हो। यहाँका माटोले स्थानीय राज्यव्यवस्थाको उत्थान–पतन देखेको छ, तर वर्तमान व्यवस्थाले त्यसको संरक्षण र प्रवर्द्धनप्रति देखाएको उदासीनता सोचनीय छ। हरेक वर्ष अरबौं रुपैयाँ खर्च गर्ने प्रदेश र संघीय सरकारहरूका योजना सूचीमा राजाकोट जस्ता स्थानीय सम्पदाहरू कहिल्यै प्राथमिकतामा पर्दैनन् किनभने यहाँबाट तत्कालिक लाभ उठाउन नसकिने देखिन्छ।
तर जनताको मनमा राजाकोट अझै बाँचेको छ। गोल्टाकुरीका युवाहरूको यो अभियान त्यसकै प्रमाण हो। उनीहरूले राजाकोटको इतिहास सम्झिँदै, गाउँको सामूहिक चासो जगाउँदै, स्वेच्छिक रुपमा संरक्षणको पहल थालेका छन्। यसरी युवाहरूले जब राज्यले छोडेको जिम्मेवारी आफैंले सम्हाल्न थाल्छन्, त्यो केवल पर्यटनको प्रयोजनका लागि होइन, आत्मसम्मान र पहिचानको प्रश्नका लागि हो।
राज्यको दृष्टिकोण अहिले पनि “कागजमा विकास” र “सहरमुखी योजना”मै सीमित छ। राजधानी वा प्रदेशको केन्द्रबाहेकका यस्ता ऐतिहासिक स्थलहरू केवल भाषणका विषय बन्छन्। जबसम्म स्थानीय आवाजलाई नीति निर्माणमा स्थान दिइँदैन, दाङको राजाकोटदेखि नेपालको धेरै सम्भावनायुक्त ठाउँहरू केवल उपेक्षित स्थलको सूचीमा सीमित रहनेछन्।
राजाकोट जस्ता ठाउँहरूमा आधारभूत पूर्वाधार निर्माण, पदमार्ग र जानकारी केन्द्रको विकास गर्न सकिए यसले दाङको पर्यटन मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशको आन्तरिक गन्तव्य विस्तारमा योगदान पुर्याउँथ्यो। तर यसका लागि न प्रदेश सरकार सचेत छ, न संघीय तहले स्थायी योजना अघि सारेको छ।
आज युवाहरूले सुरु गरेको ‘राजाकोट यात्रा’ केवल भ्रमण होइन यो प्रतीक हो, जनताको आत्मसम्मान र चेतनाको पुनर्जागरणको। राज्य मौन छ, तर जनताले आफ्नो ठाउँलाई बोल्न सिकाएका छन्।
नेपालयन खबरको दृष्टिमा
राजाकोटमा भइरहेको यो अभियान स्थानीय शासनको असफलतामाथि प्रश्न हो र जन–शक्तिको जागरणको उदाहरण पनि। राज्य मौन रह्यो भने पनि जनताको आवाज अब थामिएर बस्दैन। राजाकोट अब केवल पहाड होइन यो जनचेतनाको प्रतीक बनेको छ।
