सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, कुनै पनि हालतमा स्वीकार्य छैन्ः नेपालयन मिडिया ग्रुप

समाचार

अविसेक डाँगी ,

दाङ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपालयन मिडिया ग्रुपले सुझावसहितको आक्रोशपूर्ण धारणा सार्वजनिक गरेको छ ।

दैनिक जीवन, सञ्चार र व्यवसायिक जगतकै आधारस्तम्भ भइसकेका सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी सरकारले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालयन मिडिया ग्रुपले यस्तो कदम नागरिकको मौलिक हक, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको प्रत्यक्ष उल्लङ्घन भएको ठहर गरेको छ ।

नेपालयन मिडिया ग्रुपद्वारा जारी विज्ञप्तीमा भनिएको छ
“सरकारको दायित्व भनेको नियमन, दर्ता, सूचीकृत र व्यवस्थित सञ्चालनको वातावरण सिर्जना गर्नु हो, बन्द गरेर जनताको आवाज दबाउने होइन । लामो समयदेखि सरकारी निकायमै दर्ता, सूचीकृत भई सञ्चालनमा रहेका सामाजिक सञ्जालसमेत बन्द गर्ने निर्णय कुनै हालतमा स्वीकार्य हुन सक्दैन।”

त्यस्तै, ग्रुपले सरकारको यो कार्यलाई नेपालको संविधानले व्यवस्था गरेको सञ्चारको हक (धारा १९), अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७), सूचनाको हक (धारा २७) लगायतका मौलिक हकविपरीत भएको ठहर गरेको छ । साथै, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९ तथा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १९ मा स्पष्ट रूपमा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको समेत प्रतिकूल हुने स्पष्ट पारिएको छ ।

नेपालयन मिडिया ग्रुपले जारी गरेको विज्ञप्तीमा भनिएको छ
“सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ । सञ्जाललाई नियमन र व्यवस्थापन गर्ने हो भने पनि त्यसको स्वरूप स्वतन्त्रता मैत्री र प्रगतिशील हुनुपर्छ । नागरिकको रोजगारी, सञ्चार, व्यवसाय र स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि निर्णय हामी स्वीकार गर्न सक्दैनौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *