खतिवडा योगेन्द्र /
तेह्रथुम । तेह्रथुमको फाक्चामारा स्थायी घर भएका बलबहादुर निरौला, गाउँमा सबैले “लप्टन बा” भनेर चिन्थे । गाउँको अभिभावक, किसान नेता र एक अर्थमा त्यही समाजका राजा-साहुनी उनी नै थिए ।
लप्टन बाको सम्पत्ति र प्रभावलाई शब्दमा बाँध्न कठिन छ— आफ्नै ठूलो कुटानी पिसानी मिल, घोडा, हलगोरु, सयौँ खसी-बाख्रा, गाई-भैंसी, खेतबारी, नोकरचाकर… भन्नु पर्दा, कृषि र पशुपालनमा गाउँलेका लागि प्रेरणादायी व्यक्तित्व थिए उनी ।
गाउँका राजा जस्तै
ऋण चाहिने होस् वा संकट परेको बेला, लप्टन बा र उनको परिवार नै आश्रय बन्दै आइरहेका थिए । सुत्केरी महिलादेखि विपन्न परिवारलाई आर्थिक–सामाजिक सहयोग पुर्याउने उनी, घोडा चढेर गाउँका बाटा–चौतारामा उकाली–ओराली गर्ने, गाउँकै शासक जस्तै देखिने गर्थे ।
धान, चिया, अलैंची र माछाफार्म
लप्टन बाको धन्सार/ढुकुटीमा मंसिर महिनाभर गाउँ–टोलका मानिस धानका भारी बोकेर ल्याइदिन्थे । अँधेरिबेसी, मुक्सुना, हाक्पारा, हमर्जुङदेखि ओख्रे मार्सेफाँटसम्मका खेतबाट उत्पादन थन्क्याउने ताँती लाग्थ्यो ।
त्यो समयमै उनले आधुनिक सोच बोकेर विशाल लगानी गरेका थिए—
दाँगपा–फुलेकमा हजारौँ रोपनीमा चिया बगान,
अलैंची खेती,
मोरङको हसनदह–तितृझाँक क्षेत्रमा माछाफार्म,
तराईमा सयौं बिगाहामा धानखेती ।
आज पनि अनुसन्धान गर्न सकिने खजाना छ यो विषयमा ।
तात्कालीन फाक्चामारा गाबिस वडा नं. ७ (हाल छथर गाउँपालिका वडा नं. ४) मा फैलिएको हजारौँ रोपनी सुन्तला, आँप, लिची, कटहर, बदरको बगैंचा “लप्टनको बगैंचा” भनेर चर्चित भयो ।
पहिले जहाँ साल र बनमारा मात्र हुन्थे, त्यहाँ उनले आफ्नै लगानीमा आधुनिक फलफूल बगैंचा स्थापना गरे । गाउँले श्राद्ध, बिहे–बटुलो, तिथि–मिति गर्न बेलडाँडामा शालको पात लिन आउँदा, लप्टनको बगैंचामा धारा पिउँथे, मौसमी फल खाँथे र स्वर्गिक आनन्द लिएर फर्किन्थे ।
गाउँकै कथा–व्यथा
बाल्यकालमा गाउँले बालबालिकालाई अनुशासित बनाउन “बेलडाँडाबाट राँकेभूत तल आउँछ है” भनेर डर देखाउने गर्थे । साँझपख जंगलबाट फर्किने हातमा टुकि, टस, राँका झिलमिल्दा प्रकाश गाउँको सौन्दर्य बढ्थ्यो ।
त्यो बगैंचाको स्वाद र सुवास जिल्ला–जिल्लामा फैलिएको थियो । गाउँले मात्र होइन, बाहिरी जिल्लाका मानिस समेत फल खरिद गर्न आउँथे । त्यसको व्यवस्थापनका लागि उनले लेखापाल परिवारसहित बगैंचामै बसालेर टिनछानोको घरसम्म बनाई दिएका थिए ।
माओवादी द्वन्द्व र विनाश
तर, समय बदलियो । माओवादी आन्दोलन सुरु भयो, त्यससँगै गाउँमा आतंक, अपहरण, लुटपाट र हत्या पस्यो । गाउँले शहरतिर पलायन भए ।
लप्टन बाको आधुनिकता र उत्पादन देखाएर “यो गाउँ स्वर्ग बनाउन सकिन्छ” भन्ने उदाहरण, माओवादीहरूले कब्जा गरेर भत्काइदिए । परिवारलाई यातना, धम्की, कारबाही गर्दै अन्ततः गाउँ नै छोड्न बाध्य पारियो ।
त्यो बगैंचालाई आड बनाएर स्थानीय माओवादी नेताले “लप्टनको भन्दा ठूलो बगैंचा देखेको छु” भन्दै आफ्नो दबदबा जमाउने काम गरे । तर लप्टन परिवारले आफ्नै थातथलो फर्किन नपाउने गरी गाउँछाडेको पीडा अझै ताजा छ ।
निष्कर्ष
लप्टन बा मात्र कुनै व्यक्तिको कथा होइन, एउटा युगको प्रतिबिम्ब हुन् ।
उनीहरूले रोपेको आधुनिकताको बीउ, गाउँलाई स्वर्ग बनाउने सपना थियो । तर अराजकता, हिंसा र गलत राजनीति ले त्यो सपना चकनाचुर बनाइदियो ।
लप्टन बाको नाममा आज पनि तेह्रथुमका गाउँलेले गर्व गर्छन्, तर त्यो स्वर्णिम बगैंचा र सम्भावनाको क्षति सोच्दा, हाम्रो समाजले भोगेको गहिरो पीडा झल्किन्छ ।
