मेरो र विद्याजीबीच सम्पर्कै छैन — प्रचण्ड

राजनीति समाचार

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक सहकार्यबारे कुनै छलफल वा संवाद नभएको स्पष्ट पारेका छन्।

बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, “मेरो बिचमा विद्याजीसँग कुनै सम्पर्क भएको छैन, कुराकानी भएको पनि छैन। अब त्यस्तो चाहिँ होइन।”

हालै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किन सक्ने चर्चा चलेपछि पत्रकारहरूले सहकार्यबारे जिज्ञासा राखेका थिए। सो अवसरमा प्रचण्डले भने, “देशको राजनीति कता कसरी जान्छ भन्ने बारेमा चासो हुनु स्वाभाविक हो। प्रत्यक्ष वा परोक्ष कुरा बुझ्न सकिन्छ, तर मेरो र विद्यादेवीसँग कुनै प्रत्यक्ष छलफल भएको छैन।”

उनले थपे, “पहिला उपराष्ट्रपतिजीलाई पार्टीमा सक्रिय तुल्याइएपछि त्यसले विद्याजीका लागि ढोका खोल्न मद्दत गरेको हुनसक्छ। राष्ट्रपतिपछि वा उपराष्ट्रपतिको अवधि सकिएपछि पार्टीमा फर्कनु कुनै समस्या होइन।”

यस अवसरमा प्रचण्डले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको पनि चर्चा गरे। उनका अनुसार संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायतका महत्वपूर्ण कानुन पारित नभएकै कारण संविधानको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको छ।

प्रचण्डले स्पष्ट पारेका छन्—उनको र पूर्वराष्ट्रपति भण्डारीबीच प्रत्यक्ष संवाद नभएको र सहकार्यबारेका अड्कलबाजी आधारहीन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *