जन्मदिन…

ऊ वेला आमाबुबाले जबर्जस्ती
‘क’ लेख्न सिकाउने म अहिले
आफू आफ्नै कर्म कोरिरहेको छु ।
थाहा छैन ।
आमाबुबाको मर्मअनुसारको
मैले कर्म त गरिरहेको छु ?

प्रश्न आफू आफैँमा कैयौँ छन् ।
केही प्रश्नलाई आफैँले उत्तर दिँदै,
केहीलाई आफैँले सान्त्वना दिँदै ।
आफू आफैँमा हन्डर खाँदै ।
आज म फेरि जन्मिएको छु ।

म किन जन्मिएँ ?
न सक्छु म भन्न,
न भर्न सक्छु म जिवनमा रङ ।
आफू आफैँमा भएको छु दंग ।
किनकि विगत ७ वर्षदेखि
मेरो हरेक जन्मदिनमा हार भइरहेको छ ।
केही गर्ने सोचमाथि
बेरबार भइरहेको छ ।
अझ भनौँ भने त झन्
सोचै सोचमा डुब्नेबाहेक
हरसमय व्यस्त हुने यो ज्यान
बेरोजगार भइरहेको छ ।
र पनि,
यो जीवन अनुभव नै अनुभवले
हर दुर्गतिहरू क्रमश: यादगार भइरहेको छ ।
दिनमा दुई गुणा रातमा चौगुणा
प्रगति गर्न होसियार भइरहेको छ ।

हरदिन नयाँ आयाम छर्न खोज्ने म,
खै किन–किन आजभोलि मबाट
शून्य छन् मेरा जीवन,
शून्य छन् मेरा नयन,
शून्यता नै शून्यताले
भरिएको जीवनमा
फेरि केही रङ भर्न
म जन्मिएको छु ।
पुरानो सोचमा
नयाँ मुखुण्डो लगाउनेको भिडमा
वास्तवमै केही अलग गर्न
म जन्मिएको छु ।
हुँदै नभएका अनुहारमा
खुसीका बहारहरू छर्न
म जन्मिएको छु ।
बन्दुक र बोलिले हर्न नसकेका
कैयन पीर व्यथा विद्यमान छन्
हरकथाका खलनायक हेर्न
म जन्मिएको छु ।

प्रतिक्रिया दिनुहोस