तिघ्रामा टेपले बाँधेर ल्याएको लागुऔषध यसरी भयो बरामद…..

सिरहा । तिघ्रामा टेपले बाँधेर ल्याएको प्रतिबन्धित लागुऔषधसहित लहानका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राती करिब ८ बजेतिर भारतबाट पैदल हिँडेर आउँदै गरेका लहान नगरपालिका २१ का करिब २३ वर्षीय सोनुकुमार साहलाई भगवानपुर ४ ठाढीबाट तिघ्रामा लुकाएर ल्याएको २७ थान प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।
 
प्रहरी चौकी ठाढीबाट खटिएको गस्ती टोलीले शंका लागेर साहलाई रोकी चेकजाँच गर्ने क्रममा दुवै तिघ्रामा टेपले बाँधी ल्याएको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिघ्रामा लुकाएर ल्याएको नौ÷ नौ थान नाईट्रोजन, फेनारगन र क्राफिन बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको छ ।
 
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को माघसम्मको सात महिनाको अवधिमा लागऔषधसम्बन्धी ५४ वटा मुद्दा दर्ता गरिएका छन् । दर्ता गरिएका मुद्दामा ६१ पुरुष र दुई महिला नेपाली तथा दुई विदेशी पुरुष गरी ६५ जना पक्राउ परेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस