नेपालगन्जमा शुरू भयो ट्राफिक सप्ताह

बाँके। बाँकेमा बढदै गएको सवारी दुर्घटनालाई न्युनीकरण गर्न नेपालगन्जमा ट्राफीक सप्ताह कार्यक्रम सुरु गरिएको छ।

“सवारी अनुशासन तथा सवारी दुर्घटना न्युनीकरण” भन्ने मुलनाराका साथ नेपालगन्ज उपमहानगरपालिका , कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक कार्यालय बाँकेका आयोजना सँग लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको सहकार्यमा सप्ताह कार्यक्रम शुरू गरिएको हो ।

बिहीबार कार्यक्रममा सवारी चालकलाई हेलमेट लगाइदिई र ट्राफिक नियम सम्बन्धी स्टिकर टास गरी शुभारंभ गर्दै नेपाल सरकारका उप-प्रधान तथा गृहमंत्री नारायण काजी श्रेष्ठले सडक दुर्घटना न्युनीकरण गर्न आमजनता आफू पनि सचेत रहनुपर्ने बताएका छन् । श्रेष्ठले सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी मार्ग क्वालिटी, सवारी साधनको क्वालिटी तथा सवारी चालकको चेतना र अनुशासन साथै ट्राफिक प्रहरीहरुको ऐन नियम लागू गर्ने प्रतिबद्धताका कुल योगबाट मात्रै सकारात्मक परिवर्तन ल्याउन सकिने बताए । उनले ट्राफिक सप्ताहमार्फत आमजनतामा ट्राफीक नियमको जानकारी गराउने, दुर्घटनाका मुख्य कारणका जानकारी गराउने र त्यस बाट बच्नका निम्ति ट्राफिक अनुशासन कायम गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कठायतले कार्यक्रम एक हप्तासम्म रहने जानकारी दिएका छन् । कठायतले दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले एकल प्रयासले मात्र सफल नहुने र यसमा सवारी चालकले पनि विशेष सचेत रहन आग्रह गरे । उनले सप्ताह कार्यक्रमअन्तर्गत पैदलयात्रीलाई फुटपाथ र जेब्रक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गति नियन्त्रण गर्न प्रेरित गर्ने, पार्किंग व्यवस्थापन गर्ने, ट्राफीक नियम सचेतनाका लागि पर्चा र पम्प्लेट वितरण गर्ने बताएका छन् ।

ट्राफिक सप्ताह विशेष र्याली नेपालगन्जको बिपी चोक देखि धम्बोजीमा गएर अन्त्य गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश संसद अम्बिका काफ्ले, सहरी विकास मन्त्री नमूना केसी साथै नेपालगन्जका विभिन्न स्कूलका विद्यार्थीहरूको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस