विपन्नवर्गका विद्यार्थीलाई न्यानो कपडा

दंगीशरण । चारजना समाजसेवीले दंगीशरण–१ र २ का विभिन्न विद्यालयमा अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाकको न्यानो कपडा वितरण गरेका छन् ।

उनीहरुले दंगीशरण–१ मा रहेको आधारभूत विद्यालय बाँकी बेटारपुर– २ मा रहेका मावि मधपुर र प्रावि कौवाघारीका विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् भने प्रावि फूर्केसल्लीमा सोमवार पोशाक वितरण गरिने समूहका सदस्य व्यवसायी युवराज विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार चार विद्यालयका एक सय ३७ विद्यार्थीलाई पोशाक वितरण गरिनेछ ।

आइतबार पोशाक वितरण कार्यक्रममा बोल्दै समूहका सदस्य व्यवसायी मेघराज भुसालले आफूले आम्दानी गरेको केही भाग सामाजिक काममा लगाऔं भन्ने उद्देश्यले सामुदायिक विद्यालयमा पोशाक वितरणको अभियान थालिएको र अन्य केही सहयोग आवश्यक भए आफू सक्दो सहयोग समेत गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयमा आवश्यक पर्ने शुद्ध पानीका लागि फिल्टरलगायतका कुनै सामग्री आवश्यक भए जानकारी गराउनुहोला । हामी सहयोगका लागि तयार छौं ।’

समूहमा तुलसीपुर–५ का वडाध्यक्ष वीरेन्द्र शाह र व्यवसायी होमप्रकाश गौतम हुनुहुन्छ । अभियानलाई आगामी दिनमा निरन्तरता दिंदै सामाजिक काम अगाडि बढाइने अध्यक्ष शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस