एमाले बागमतीको अध्यक्षमा सरेशदेखि महेशसम्मको चर्चा, कसको सम्भावना कति ?

काठमाडौं । आगामी असोज ८-९ गते हुने एमालेको बागमती प्रदेश अधिवेशनबाट चुनिने नेतृत्वबारे चर्चा सुरु भएको छ ।

प्रदेशको नेतृत्वका लागि नेताहरुले आ–आफ्नो लबिङलाई तीव्र पारेका छन् । त्यस्तै स्थानीय तहबाट चुनिएर आउने प्रतिनिधिमा आफ्नो पक्षका कार्यकर्ता बढी पार्न पनि उनीहरुले व्यापक प्रयास गरिरहेका छन् ।

संघीय राजधानीसमेत रहेका कारण यहाँको नेतृत्वलाई निकै महत्वका साथ हेरिन्छ । साथै धेरै केन्द्रीय नेताहरु भएका कारण पनि यहाँको प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।

एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको थियो । तर लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव बागमतीमा पनि परेको छ । र, यहाँ पनि नेतृत्व चयनका लागि चुनाव हुने निश्चित जस्तै छ ।

एमालेको बागमती प्रदेश अध्यक्षका लागि एक दर्जन जति नेताले आकांक्षा देखाएका छन् । यहाँको अध्यक्षका लागि केन्द्रीय सदस्यसमेत रहेका सिन्धुपाल्चोकका नेता सरेश नेपालदेखि भक्तपुरका नेता एवम् पोलिट्ब्युरो सदस्य महेश बस्नेतसम्मको चर्चा छ ।

त्यस्तै काभ्रेका नेता गोकुल बास्कोटाले सर्वसम्मत भए आफूले प्रदेशको नेतृत्व गर्ने बताएका छन् । उनले चुनाव हुने हकमा भने पछाडि हट्ने संकेत गरेका छन् ।

दोलखाका नेता एवम् पोलिट्बुरो सदस्य पार्वत गुरुङ र आनन्द पोखरेलले पनि प्रदेशको नेतृत्वका लागि चाहना व्यक्त गरेका छन् । उनीहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै खुसी पारेर नेतृत्वमा आउन ताकिरहेका छन् ।

नुवाकोटका नेता एवम् अहिलेको प्रदेश अध्यक्षसमेत रहेका केशव पाण्डेले पनि पुनः प्रदेश हाँक्ने रहर गरेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेल चुनाव लडेरै भए पनि प्रदेशको नेतृत्व हत्याउने दाउमा छन् ।

अहिलेका प्रदेश कमिटी सचिव रहेका चितवनका विजय सुवेदीसँगै नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनी, सिन्धुपाल्चोकका अरुण नेपाल, काठमाडौंका रामेश्वर फुँयाल र सानुकुमार श्रेष्ठको नाम पनि चर्चामा छ ।

त्यस्तै सिन्धुपाल्चोककै नेता एवम् स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पनि प्रदेश अध्यक्षका लागि रहर गरेका छन् । उनी चुनावै लड्न भने तयार नहुन सक्छन् । महेश बस्नेत पनि चुनावै लड्ने मनस्थितिमा भने नभएको पाइएको छ ।

स्थायी कमिटी सदस्य तामाङ, पोलिट्ब्युरो सदस्यहरु बस्नेत, बास्कोटा, पोखरेल र गुरुङ चुनाव नलड्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस