काठमाडौं । चलचित्र ‘ऐँचो पैँचो आजबाट देशभरि प्रदर्शनमा आएको छ ।
कृषा चौलागाईं निर्देशित सिनेमा ‘ऐँचो पैँचो’ मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं लगायतको भूमिका छ ।
काठमाडौंमा आयोजित प्रिमियरमा कलाकार तथा विभिन्न दलका नेताहरू पनि फिल्म हेर्न पुगेका थिए ।
प्रिमियरमा सहभागी अधिकांशले फिल्म तथा अभिनेत्री वर्षा राउत र स्वस्तिमा खड्काको अभिनयको प्रसंसा गरे । अभिनेता सुशील सिटौलाको अभिनय समेत धेरैले राम्रो भएको बताए ।
निर्देशक शोभित बस्नेतले ‘ऐँचो पैँचो’को कथावस्तुले नेतालाई दुखी र आफ्नो पीडा देखाएकोमा कार्यकर्तालाई खुसी बनाउने बताए । सबै राजनीतिकर्मीले फिल्म हेर्नेपर्ने उनको धारणा रहेको थियो ।
त्यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म रहेको राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको बताइन् ।
नेकपा एसका नेता तथा सांसद् प्रेम आलेले फिल्मले मन छोएको बताए । सांसद सोभिता गौतमले फिल्मले समाजको राम्रो ऐना प्रस्तुत गरेको तर्क गरिन् । अर्का सांसद् ज्ञानेन्द्र शाहीले फिल्मले अहिलेको नेपालको यथार्थ पक्ष देखाएको बताए । पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको फिल्म केपी फिल्मको ब्यानरमा निर्माण भएको हो ।

