दाङ । दाङका सबै पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाले सभामा बजेट पेश गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०÷८१ का लागि शनिबारसम्म दाङका दुई स्थानीय तहले बजेट पेश गरिसकेका थिए । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
समयमा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या हुने महालेखा परीक्षकको प्रतिवेदनले पनि पुष्टि गरेको छ । संघबाट चार प्रकारका अनुदान र राजस्व बाँडफाँडबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ ।
संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ । तर स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउनमा समस्या देखिने गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेश भए नभएकालाई मूल्यांकनको एक सूचक मान्ने गरेको छ ।
शुक्रबार नै दाङका बंगलाचुली र राप्ती गाउँपालिकाले नयॉँ बजेट ल्याइसकेका छन् । राप्तीले ६५ करोड ७६ लाख र बंगलाचुलीले ५७ करोड २५ लाख ८४ हजारको बजेट ल्याएका छन् ।
जिल्लाको घोराही उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ । घोराहीले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख हुमा डिसीले चालुतर्फ एक अर्ब २८ करोड तीन लाख ४० हजार अर्थात ५९.४० प्रतिशत र पूँजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार अर्थात ४०.६० प्रतिशतको बजेट प्रस्तुत गर्नुभएको छ ।
घोराहीको कुल विनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७६ करोड ५९ लाखमध्ये पाँच करोड ३१ लाख अर्थात ६.९३ प्रतिशत पूँजीगत खर्च र ७१ करोड २८ लाख अर्थात ९३.०७ प्रतिशत चालु खर्च रहेको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान चार करोड ७८ लाख ५० हजारमध्ये चार करोड ६४ लाख अर्थात ९६.९७ प्रतिशत पूँजीगत खर्च र रू. १४ लाख ५० हजार अर्थात ३.०३ प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड
र रोयल्टी तथा उपमहानगरपालिककाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दातसमेत) बाट विनियोजन गरिएको बजेट एक अर्ब ३४ करोड १७ लाख ३३ हजार मध्ये ५६ करोड ६० लाख ९० हजार अर्थात ४२.२० प्रतिशत चालु खर्च र रू. ७७ करोड ५६ लाख ४३ हजार अर्थात ५७.८० प्रतिशत पूँजीगत खर्च रहेको छ।
चालु आर्थिक वर्ष भन्दा ७.४५ प्रतिशतले घटेको बजेटमा घोराहीले शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रवद्र्धन, महिला, बालबालिका तथा समाज कल्याण, सामाजिक सुरक्षा, सामाजिक विकासतर्फ ९४ करोड १३ लाख ९५ हजार बिनियोजन गरेको छ ।
सडक पिच, ग्राभेल तथा बाटो स्तरोन्नति, कल्भर्ट, सिंचाई तथा खानेपानी, विद्युत विस्तार, पार्क, उद्यानलगायत पूर्वाधार विकास तर्फका सबै प्रकृतिका आयोजना निर्माणसम्बन्धी कार्यका लागि आन्तरिक तर्फ ५२ करोड ४८ लाख ६८ हजार, संघ सरकारबाट प्राप्त अनुदानतर्फ दुई करोड ६३ लाख र प्रदेश सरकारबाट प्राप्त अनुदानतर्फ तीन करोड गरी जम्मा ५८ करोड ११ लाख ६८ हजार विनियोजन गरेको छ ।
त्यसैगरी आर्थिक विकास अन्तर्गत कृषि विकास, पशु सेवा, पर्यटन तथा संस्कृति प्रवद्र्धन, सीप विकास तथा उद्यम प्रवद्र्धन, सहकारी तथा रोजगार प्रवद्र्धन, उपभोक्ता हित संरक्षण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन गरी जम्मा पाँच करोड ९२ लाख ५० हजार बिनियोजन गरेको छ । सरसफाइ, वन, वातावरण तथा विपत् व्यवस्थापनतर्फ पाँच करोड एक लाख २० हजार विनियोजन गरेको छ । घोराहीले १९ वटै वडाको पूँजीगत खर्चतर्फ आठ करोड दु्ई लाख र चालु कार्यक्रम खर्च एवं कार्यालय सञ्चालन तर्फ सात करोड १८ लाख गरी जम्मा १५ करोड २० लाख बिनियोजन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले आइतबार ‘समृद्ध तुलसीपुर: सबैका लागि, सधैंका लागि’ भन्ने मूल अभियानका साथ आर्थिक वर्ष २०८०÷०८१ को लागि एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
जसमा आन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजश्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशनबाट १२ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट तीन करोड र विज्ञापन करबाट १५ लाख गरी कुल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ । पालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २९ करोड आठ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान एक करोड र राजश्व बाँडफाँड संघ २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट १५ लाख गरी कुल एक अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान दुई करोड ३६ लाख ५० हजार, समपुरक अनुदान दुई करोड, राजश्व बाँडफाँड प्रदेश दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कुल आठ करोड ७१ लाख २१ हजार सात सय ५० र अन्य संघसंस्था अनुदानमा नगर विकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक बोर्ड नेपालबाट एक करोड, युएसआइडी (जिटुजी) कार्यक्रम सञ्चालनका लागि तीन करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ ।
पालिकाले कुल आम्दानी हुने अनुमानित बजेटको व्ययतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्च २६ करोड ७४ लाख ९१ हजार चार सय ९१, नगर विकास कोष सावाँ व्याज किस्ता भुक्तानी एक करोड ५० लाख, सबै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च १९ करोड ३७ लाख ५० हजार, वडास्तरीय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च छ करोड ७२ लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च चार करोड ८१ लाख एक हजार दुई सय ५९, संघ प्रदेश र अन्य म्याचिङ चार करोड ६० लाख नगर विकास कोष म्याचिङ दुई करोड, गत आ.व. भुक्तानी बाँकी खर्च २७ करोड, संघीय सरकार सशर्त योजना तथा कार्यक्रम खर्च ६५ करोड १३ लाख, संघीय सरकार समपूरक अनुदान योजनाहरु ७५ लाख, संघीय सरकार विशेष अनुदान योजना तथा कार्यक्रमहरुको खर्च एक करोड, प्रदेश सरकार सशर्त योजना तथा कार्यक्रमहरुको खर्च दुई करोड ३६ लाख ५० हजार, प्रदेश सरकार समपूरक योजना तथा कार्यक्रम खर्च दुई करोड, तुलसी ट्रेड टावर निर्माणका लागि ११ करोड, वास कार्यक्रम सञ्चालन गर्न ४५ लाख, सडक बोर्डका योजना तथा कार्यक्रम खर्च एक करोड, युएसआइडी (जिटूजी) कार्यक्रम खर्च तीन करोड ७७ हजार गरी कुल बजेट खर्च एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० अनुमान गरिएको छ ।
यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा चालुतर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कुल खर्च ४७ करोड सात लाख १८ हजार चार सय ९१ अर्थात कुल बजेट खर्चको २६.२३ प्रतिशत रहेको छ भने विकास र सशक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरुतर्फ कुल खर्च एक अर्ब ३० करोड ८८ लाख ५१ हजार दुई सय ५९ कुल बजेट खर्चको ७२.९३ प्रतिशत हुनेछ । यसैगरी वित्तीय खर्चतर्फ एक करोड ५० लाख विनियोजन गरिएको छ जुन कुल बजेट खर्च अनुमानको ०.८४ प्रतिशत हुन आउँछ ।
बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व बृद्धि, वित्तीय क्षेत्र सुधार, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि, पशु र पर्यटन क्षेत्रको विकास, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, डिजिटल र हरित अर्थतन्त्रको प्रवद्र्धन, वातावरण संरक्षण, जलवायु परिवर्तन र विपत व्यवस्थापन, संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, लैंगिक तथा सामाजिक समावेशीकरणमा जोडलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । आइतबार तुलसीपुर उपमहानगरपालिकाको १३ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख टीकाराम खड्काले आ.व. २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने दोस्रो बैठकमा प्रवक्ता माधव वलीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
लमही नगरपालिकाले आगामी आर्थिक बर्षको ८५ करोड ४५ लाख बढी बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा एक अर्ब ३९ करोड ८० लाख २० हजार बजेट ल्याएको नगरपालिकाले आगामी आर्थिक बर्षको लागि जम्मा ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेट सिमा तोकेर ५९ करोड ३१ लख ७२ हजार ८ सय १९ रुपैयाँको बिषयगत बजेटमा सिलिङ तोक्दै बजेट ल्याएको हो ।
उपप्रमुख लक्ष्मी योगीले संघीय सरकार समानीकरण तर्फ १३ करोड ७५ लाख, संघीय सरकार राजश्व बाँडफाँड १३ करोड २४ लाख २९ हजार, संघीय सरकार समपूरक अनुदान ५० लाख बजेट आय प्रस्तुत गरिन् । यस्तै संघीय सरकार सशर्त अनुदान २४ करोड १३ लाख, प्रदेश सरकार समानीकरण १ करोड ३ लाख ३९ हजार, प्रदेश सरकार सशर्त अनुदान १ करोड १९ लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख, आन्तरिक श्रोत ११ करोड १२ लाख ५० हजार, राजश्व बाँडफाँड स्थानीय १२ करोड ८ लाख ५० हजार, बैंक मौज्दात आन्तरिक श्रोत ५ करोड गरी ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेटको सिमा तोकेको छ ।
बजेटमा प्रशासनिक खर्च १५ करोड ५८ लाख ६० हजार, आर्थिक बर्ष २०७९/८० को भुक्तानी बाँकी १२ करोड, समपुरक कोष ३ करोड, क्रमागत आयोजना १० करोड विनियोजन गरिएको छ । यस्तै शिक्षा युवा तथा खेलकुद शाखामा एक करोड ८१ लाख, स्वास्थ्य शाखामा ५० लाख, कृषि शाखामा ५० लाख, पसु सेवा शाखामा ५० लाख, विपद् व्यवस्थापन तथा सरसफाई शाखामा २५ लाख, न्यायिक समितिमा १५ लाख, पर्यटन शाखामा ५ लाख, विपद् व्यवस्थापन कोषमा ७५ लाख बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार शाखामा ४ करोड ५० लाख, लमही अस्पतालमा ५० लाख, आयूर्वेद शाखामा १५ लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा ३५ लाख, उपभोक्ता हित संरक्षण शाखामा ७ लाख, सूचना तथा सञ्चार प्रविधि शाखामा १० लाख, जनतासँग मेयर कार्यक्रममा ७५ लाख, सुशासन तथा संस्थागत विकास शाखामा १० लाख, सहकारी शाखामा १० लाख १२ हजार ८ सय १९ रुपैयाँ बजेट विनियोजन गरिएको छ । राजश्व शाखामा ७ लाख बजेट विनियोजन गरिएको छ । ९ वडा कार्यालयमा ६० लाखको दरले ५ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । यस्तै लमही अस्पताल आन्तरिक स्रोततर्फ एक करोड १८ लाख बजेट प्रस्ताव गरिएको छ ।
यसैबीच शान्तिनगर गाउँपालिकाले पनि आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकाको १४ औं गाउँसभाबाट ४६ करोड १३ लाख ९३ हजार एक सय दश रुपैयाँको अनुमानित बजेट ल्याइएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको पालिका प्रमुख प्रमोद बस्नेतले जानकारी दिनुभयो । सभामा पालिका प्रमुख बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने पालिकाका उपप्रमुख प्रेमाकुमारी बढाथोकीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
दाङको दंगिशरण गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । जस अन्तर्गत चालु तर्फ २७ करोड ५३ लाख १८ हजार र पुँजीगततर्फ १६ करोड ८५ लाख २ हजार बजेट विनियोजन गरेको छ ।
जसमा प्रदेश सरकारबाट चालु खर्च ९७ लाख १४ हजार, संघीय चालु खर्च १५ करोड ६४ लाख ८३ हजार र आन्तरिक स्रोततर्फ १० करोड ९१ लाख ११ हजार गरी चालुखर्च तर्फ जम्मा २७ करोड ५३ लाख १८ हजार खर्च बिनियोजित भएको हो । यस्तै पुँजीगत खर्चतर्फ प्रदेश सरकारबाट १ करोड ९८ लाख ७४ हजार, संघीय पुँजीगत तर्फ ११ करोड ८६ लाख १७ हजार, आन्तरिक स्रोततर्फ २ करोड २३ लाख ७१ हजार गरी जम्मा पुँजीगत खर्चतर्फ १६ करोड ८५ लाख २ हजार रकम प्रस्तुत गरेको छ ।
त्यस्तै राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६५ करोड ७६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । जसमा ३१ करोड ५८ लाख र पुँजीगततर्फ ३३ करोड २६ लाख रहेको छ भने दाङको पश्चिम बबई गाउँपालिकाले ४६ करोड ल्याएको छ ।
यस्तै बिहीबार नै नीति तथा कार्यक्रम सम्पन्न गरेको बबई गाउुपालिकाले पनि ४७ करोड ८४ लाख ३५ हजार बराबरको बजेट आइतबार प्रस्तुत गरेको छ । पालिकाको १३ औं गाउँसभाको दोस्रो बैठकमार्फत उक्त बजेट ल्याइएको हो ।
त्यस्तै दाङको बंगलाचुली गाउँपालिका गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५७ करोड २५ खाल ८४ हजार बजेट विनियोजन गरेको छ । जसमध्ये पुँजीगततर्फ २४ करोड ६५ लाख ६० हजार र चालुतर्फ शिक्षा, स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा, कार्य सञ्चालन तथा व्यवस्थापनसहित ३२ करोड ६० लाख २४ हजार विनियोजन गरेको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि १९ करोड ४० लाख र स्वास्थ्य क्षेत्रका लागि ६ करोड ३८ लाख गरी जम्मा २५ करोड ७८ लाख शिक्षा र स्वास्थ्यमा विनियोजन गरेको छ । गाउँपालिकाले तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका प्रशासनिक खर्च तर्फ ७ करोड ६५ लाख बजेट प्रस्ताव गरेको छ ।
राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि ६१ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँ सभाको बैठकमा उपाध्यक्ष धनपतीदेवी यादवले ६१ करोड १८ लाख ९८ हजार सात सय ८५ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ ४४ करोड ९५ लाख ३६ हजार सात सय ८९ र पू‘ँजीगततर्फ १६ करोड २३ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक विकासतर्फ छ करोड ५२ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । जसअन्तर्गत कृषि तथा पशुपंक्षी विकासतर्फ दुई करोड ९६ लाख ९२ हजार, सिंचाई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणतर्फ तीन करोड ४६ लाख ७३ हजार, उद्योग पर्यटन विकास तथा बजार व्यवस्थापनतर्फ नौ लाख बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ ३३ करोड ४० लाख ८६ हजार बजेट प्रस्ताव गरिएको छ । जसअन्तर्गत युवा तथा खेलकुदमा ३० लाख, शिक्षातर्फ १९ करोड ९२ लाख, स्वास्थ्यतर्फ चार करोड २० लाख ३६ हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण एक करोड चार लाख ७५ हजार बजेट प्रस्ताव गरिएको छ । यस्तै भाषा तथा संस्कृतितर्फ १५ लाख, खानेपानी तथा सरसफाइमा ७२ लाख, सामाजिक सुरक्षा तथा संरक्षणमा सात करोड ८९ लाख ५५ हजार बजेट प्रस्ताव गरिएको छ । पूर्वाधार विकासतर्फ छ करोड ७८ लाख ५३ हजार बजेट प्रस्ताव गरिएको छ । जस अन्तर्गत यातायात पूर्वाधारतर्फ छ करोड एक लाख तीन हजार, भवन आवास तथा शहरी विकासतर्फ ६९ लाख ५० हजार, विद्युत तथा उर्जामा आठ लाख बजेट विनियोजन गरिएको छ ।
सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा पाँच करोड ९५ लाख १९ हजार बजेट प्रस्ताव गरिएको छ । जसअन्तर्गत प्रशासनिक सुशासनमा ७४ लाख ५० हजार, वित्तीय सुशासनमा ५५ लाख २० हजार, विपत् व्यवस्थापनतर्फ तीन करोड ६४ लाख ९७ हजार, मानव संसाधन विकासमा तीन लाख, योजना तर्जुमा कार्यान्वयनमा २३ लाख, शासन प्रणालीमा ६० लाख बजेट प्रस्ताव गरिएको छ । अनुगमन तथा मूल्यांकनमा १४ लाख ५२ हजार बजेट प्रस्ताव गरिएको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा आठ करोड ५१ लाख ७५ हजार सात सय ८९ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ६३ करोड १४ लाख ५७ हजार एक सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेको छ । चालु खर्चमा १३ करोड ५९ लाख ९७ हजार र बाँकी बजेट बिषयगत शाखा र वडा कार्यालयमा विनियोजन गरेको छ । कृषि विकास शाखामा १ करोड ५३ हजार, स्वास्थ्य शाखातर्फ ९३ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा ५३ लाख ९५ हजार बजेट प्रस्तुत गरिएको छ ।
वन तथा वातावरण फोहरमैला तथा पर्यटन शाखामा ३० लाख, न्याययिक समितिमा ७ लाख, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखामा तीन लाख, पशुपंक्षी तथा मत्य विकास शाखामा ५२ लाख २० हजार, सहकारी शाखामा १० लाख, शिक्षा युवा तथा खेलकुद शाखामा ८२ लाख, आयूर्वेदिश औषधालयमा १५ लाख, गाउँपालिका स्तरीय योजना तथा कार्यक्रममा ७ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
वडागत योजनामा ५ करोड ५९ लाख, वडागत प्रोत्साहन ९८ लाख, समपुरक कोषमा ३ करोड ४२ लाख १५ हजार एक सय ७२, गाउँ गौरव तथा गाउँपालिकास्तरीय योजनाहरुमा एक करोड ५० लाख बजेट विनियोजन भएको छ । संघ तथा प्रदेश सरकारबाट विनियोजन सशर्त अनुदान, बिशेष अनुदान, समपुरक अनुदानमा २५ करोड ८७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
साभारः रातोपाटी