कोदालाले हानेर श्रीमानको हत्या, श्रीमती र छोरा पक्राउ

दाङ । दाङमा एक जनाको हत्या भएको छ । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ३५ वर्षीय रेशम सुनारको मंगलबार साँझ कोदालेले हानेर हत्या भएको हो । हत्यामा संलग्न रहेको अरोपमा आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
 
हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र ३६ वर्षीया श्रीमती चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।
 
मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उनले बताए । मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
 
मृतकको शबलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस