मन्त्रिपरिषद् विस्तारमा गठबन्धन- ‘बिहेको तयारी पूरा, बेहुली खोज्नै बाँकी’

काठमाडौं । सत्तारूढ गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्री र १ राज्यमन्त्रीसहित वर्तमान सरकारमा सहभागी हुन तम्तयार भएको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ ।

मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले गृह वा भौतिकसहित ३ मन्त्रालय लिएर सरकारमा जाने निर्णय गर्दै माग्नेबित्तिकै मन्त्रीहरूको सूची प्रधानमन्त्री प्रचण्डलाई दिने निष्कर्ष निकाल्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (पार्टी) पनि उपनिर्वाचनपछि गृह लिनेगरी अहिले २ मन्त्रालय लिएर सरकारमा सहभागी हुन इच्छुक छ । उपसभापति डोलप्रसाद अर्यालले त आफूहरू सरकारमा सहभागी हुनुलाई समयको सापेक्षतासँग दाँजेका छन् । उनले भनेका छन्, ‘हामी सरकारमा जानु समयको माग हो । थप छलफल गर्छौँ ।’

तराईकेन्द्रित दलहरू जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टीलगायतले पनि सरकारमा सहभागी हुनका लागि ‘रोज्जा’ मन्त्रालय मागिरहेका छन् ।

गठबन्धनमा रहेका सबै दल सरकारमा जान चाहेको भएपनि मन्त्रिपरिषद् विस्तारको कुरा भने ‘बिहेको सबै तयारी पूरा, तर बेहुली खोज्न बाँकी’ भनेजस्तै देखिएको छ । अर्थात् मन्त्रालयको हिसाब र मन्त्रीका आकांक्षी भेटिएपनि मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने टुङ्गो लाग्न बाँकी नै छ ।

प्रधानमन्त्री प्रचण्डले मोटामोटी मन्त्रालयको टुङ्गो लागेको भन्दै आएपनि दलहरूको अभिव्यक्तिले त्यसलाई झुटो सावित गरिरहेको छ । ‘हामीले यति मागेका छौँ’ भनेर सबैले भनेपनि ‘हामीले यत्ति पायौँ’ भनेर भने कसैले भनेका छैनन् । मन्त्रालय कति पाउने र कुन-कुन पाउने; टुङ्गो नलाग्दै मन्त्री बन्नेको नाम भने सार्वजनिक भइसकेको छ ।

एकीकृत समाजवादीको बैठकले ३ मन्त्रालयबाट पछि नहट्ने अडानसँगै पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने निर्णय नै गरिसकेको छ ।

जसपाले अशोक राईको नेतृत्वमा सरकारमा जाने कुरालाई गुपचुप राखेको छ । मन्त्रालय नटुङ्गिएको कारण निर्णयबाहिर नल्याएको पार्टी स्रोतको भनाइ छ ।

त्यसैगरी साना दलहरूले १ मात्रै मन्त्रालय पाउँदा पार्टीको मुख्य व्यक्ति नै जानेगरी टुङ्ग्याएका छन् ।

यता, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा पनि १ मन्त्रालय थप पाउँदा शक्ति बस्नेतलाई अवसर दिने पक्षमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड रहेको स्रोत बताउँछ ।

धेरै मन्त्रालय दाबी गरिरहेको र पाउने पनि निश्चित भएको कांग्रेसले पनि मन्त्रालयको टुङ्गो नलाग्दै मन्त्री बनाउनेको नाम लगभग अन्तिम सूची बनाइसकेको छ । कांग्रेसबाट मन्त्री बन्नेको नाम देउवाको ‘खल्ती’ मै पुगेको बताइन्छ ।

कुन मन्त्रालय लिने भन्ने निश्चित नहुँदै मन्त्रीको नाम टुङ्ग्याउँदा कांग्रेसमा पनि ‘बिहे अगाडि नै भतेर खाने’ तयारी जस्तै भएको छ । तर,कांग्रेस नेता त्यसलाई स्वाभाविक ठान्छन् । ‘मन्त्री कसलाई बनाउने भन्ने पार्टीको आन्तरिक कुरा हो,’ नेता प्रकाशमान सिंहले भनेका छन्, ‘निर्णय गरेकोचाहिँ होइन, तर छलफल चलेको कुरा सत्य हो ।

स्रोतकाअनुसार कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, किशोरसिंह राठोर, सांसदहरू सीता गुरुङ, तेजुलाल चौधरी, दीपक गिरी, प्रदीप पौडेल, रमेश रिजाल, मोहनबहादुर बस्नेत, राजन केसी र दीपक खड्कामध्येबाट मन्त्री बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस