बबई नदीमा मनपरी उत्खनन्

दाङ । राति १० बजेदेखि बिहान ५ बजेसम्म दंगिशरण गाउँपालिकाको बैवाङ घाटमा ट्याक्टरको मेला लाग्छ । नदीपारि र वारिबाट आएका ट्याक्टर एकसाथ बबई नदीमा पुग्छन् । नयाँ बनेको पुल वरपर बालुवा उत्खनन् गर्छन् ।

कतिपय ट्याक्टरले नदीको किनारमा बालुवा थुपार्छन् भने बाँकी ट्याक्टर बालुवा बोकेर ठाउँ–ठाउँमा पुग्छन् । रातभर यो सिलसिला चल्छ तर नियमन गर्ने निकायले यसरी भइरहेको ढुंगाजन्य बस्तुको चोरीबारे सूचना पाए पनि एक्सनमा उत्रदैन । बरु उनीहरु चोरी निकासी नियन्त्रण गर्न नसक्ने बताउँछन् । ‘राति आउनुहोला यहाँको मेला हेर्न । दिउँसो त केही हुदैन’– स्थानीय एक उपभोक्ताले भन्नुभयो– ‘चोरी निकासीबारे प्रहरीलाई उजुरी गरे उल्टै समस्यामा पर्ने डर छ । चोरीको बारेमा सूचना दिदा उल्टै त्यो सूचना उत्खनन्मा संलग्नलाई पहिला पुग्छ ।’

दंगिशरण गाउँपालिका वडा नं. ४ र १ जोड्ने पक्की पुल वरपर बालुवा उत्खनन् गरिएको छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ छर्कट्टामा पर्ने बबई नदीबाट पनि बालुवा उत्खनन् बढेको छ ।

बबई नदीबाट ढुंगाजन्य वस्तुको अवैध उत्खनन् बढेको छ । यसलाई नियमन गर्ने निकाय स्थानीय सरकार, प्रहरी प्रशासन असफल जस्तै देखिएका छन् । उपभोक्ताले एक ट्याक्टर बालुवा लैजाँदा प्रहरीले निगरानी राख्ने तर चोरी गरेर ट्याक्टरका ट्याक्टर निकासी हुदा निगरानी नगरिएको स्थानीयको गुनासो छ । उत्खनन् स्थलमा पुगेर तथ्य विवरण संकलनको क्रममा भेटिएका स्थानीयले आफ्नो नाम ठेगाना गोप्य राख्न अनुरोध गर्छन् ।

‘हामीले यहाँ आफ्नो नामसहित राख्न लगायौं भने उल्टै हामीलाई सताउन थाल्छन् । अब कसरी हुन्छ यस्तो अवैध काम रोकिनुपर्ने हो’– नाम नराख्ने शर्तमा उहाँले भन्नुभयो– ‘केही दिनअघि उत्खनन्मा आएकाहरुसँग पनि हाम्रो सवाल जवाफ भयो । अब व्यक्तिगत रिसइवी साध्लान् भन्ने डर छ ।’ स्थानीय सरकारले नदीजन्य बस्तुको उत्खनन्का लागि ठेक्का लगाउन ढिलाइ गरेकै कारण अवैध उत्खनन् र चोरी बढेको देखिएको छ । नयाँ आर्थिक वर्ष शुरु हुने बेलामा नै यस प्रकारको प्रक्रिया र काम थाल्नुपर्ने भए पनि ६ महिना पुग्नै लाग्दा बल्ल केही स्थानीय तहले यसमा काम गर्न थालेका छन् । विकास निर्माणका काम शुरु भएका छन् तर नदीजन्य बस्तु सहज रुपमा नपाउँदा काम समेत प्रभावित हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस