निकुञ्ज भित्रका गाउँ , बदेलले खाईदिन्छन् वाली

दंगीशरण । दंगीशरण–१ कालीतराका लालबहादुर विश्वकर्माले आफ्नो बारीमा लगाएको मकै सग्लो भित्र्याउन नपाएको धेरै वर्ष भयो । त्यस क्षेत्रका सबैले सग्लो खेती भित्र्याउन पाउँदैनन् । फुर्केसल्लीमा रहेका हाउरे, साङ्ले, लामितरा, कोट, ठाँटी, कालितरा र बुकाखोलाका स्थानीय बालीबोट सग्लो भित्र्याउन नपाएपछि वर्षौंदेखि पीडामा छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरकै कारण लगाएको खेती भित्र्याउन नपाउने अवस्था आएको हो । बाँके राष्ट्रिय निकुञ्जका बँदेल र दुम्सीले मकै तथा अन्न र फलफूल खेतीमा पनि नोक्सान पुराउने गरेका हुन् । बँदेल र दुम्सीले त्यसक्षेत्रका एक सय ६४ घरपरिवारलाई हैरान बनाएका छन् । तर स्थानीयसँग बालीबोट सुरक्षित राख्ने कुनै उपाय छैन । जंगली जनावरबाट खेती जोगाउन सक्ने अवस्था नै नरहेको स्थानीय टिकाराम डाँगीले बताउनुभयो । टिका जस्ता धेरै किसानले क्षतिपूर्ति समेत पाउँदैनन् । कारण उनीहरुले ऐलानी जग्गा जोतेका छन् ।

दर्ता जग्गा जोत्नेबाहेक अरु कसैले पनि बाँके राष्ट्रिय निकुञ्जबाट क्षतिपूर्ति पाउँदैनन् । बाँके राष्ट्रिय निकुञ्जले त्यसक्षेत्रमा ऐलानी जग्गामा हुने खेतीमा क्षति पुगे पनि क्षतिपूर्ति नपाउने नियम भएपछि धेरै बञ्चित भएका छन् तर दर्तावालहरुले पनि उचित क्षतिपूर्ति पाउँदैनन । दंगीशरण–१ ठाँटीका झुपलाल घर्तीले बाँके राष्ट्रिय निकुञ्जबाट खेती नोक्सान भएवापत न्यून रकम क्षतिपूर्ति पाउनुहुन्छ । त्यही रकम पनि सिफारिस गर्दैमा ठीक्क हुन्छ । गतवर्ष घर्तीले दुई हजार प्राप्त गर्नुभएको थियो । घर्तीको खेती नोक्सान भएको नौं हजारको मूल्यांकन भएको थियो । फुर्केसल्ली क्षेत्रमा करिब १० बिगाह जग्गा दर्ता छ भने बाँकी करिब २५ बिगाह जग्गा ऐलानी स्थानीयले भोगचलन गरिरहेका छन् । जुन जग्गाको खेतीमा नोक्सान भए पनि क्षतिपूर्ति पाइँदैन ।

बँदेल र दुम्सीले मकै, धानसँगै गहुँ, तोरी, दालजन्य खेती, आलुमा समेत नोक्सान गरेको स्थानीयले बताएका छन् । केही वर्षसम्म मकै खेतीमा मात्रै नोक्सान गर्ने जंगली जनावरले अहिले जुनसुकै बालीमा पनि क्षति गर्न थालेका छन् । जसका कारण सबै प्रकारका खाद्यान्न किन्न स्थानीयलाई बाध्यता छ ।

क्षतिपूर्तिभन्दा खर्च धेरै

वर्षको एक पटक मात्रै क्षतिपूर्ति प्राप्त गर्ने स्थानीयलाई पाउने रकमभन्दा पनि लाग्ने खर्च धेरै हुने गरेको उनीहरुको गुनासो छ । खेतबारीमा नोक्सान भएको खेती वापतको क्षतिपूर्ति प्राप्त गर्न स्थानीयले वडा कार्यालय, गाउँपालिका, कृषि शाखा र मध्यवर्ती समितिको सिफारिस पत्रका साथमा खेतीमा नोक्सान भएको प्रमाणसहितको फोटो उपलब्ध गराउनुपर्छ ।

सिफारिस र फोटो भएपछि उनीहरुले बाँके राष्ट्रिय निकुञ्जमा पेश गर्नुपर्छ । पेश भएपछि बाँके राष्ट्रिय निकुञ्जले मूल्यांकन गरेर मात्रै रकम उपलब्ध गराउने गर्छ । गत वर्षसम्म खेती नोक्सान भएवापत नगद रकम प्रदान गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जले यस वर्षदेखि बैंक खातामा हाल्ने स्थानीय झुपलाल घर्तीले बताउनुभयो । खेतीमा पुगेको क्षतिको मूल्यांकनको करिब २५ प्रतिशत रकम मात्रै प्राप्त गर्ने गरेको उनीहरुको भनाइ छ । स्थानीय दुजा बुढा मगरको गतवर्ष खेती नोक्सान भएको मूल्यांकन नौ हजारको भएको थियो तर राष्ट्रिय निकुञ्जले दुई हजार मात्रै दियो ।

खेती जोगाउन तारबार

हरेक वर्ष जंगली जनावरले खेतीमा नोक्सान गर्न थालेपछि खेतीलाई सुरक्षित राख्ने उपाय अपनाउन थालिएको छ । स्थानीयले खेती जोगाउन दबाब सिर्जना गरेपछि केही बस्तीमा जंगली जनावरबाट खेती जोगाउन तारबार शुरु गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र दंगीशरण गाउँपालिकाले खेती सुरक्षित राख्न केही बस्तीमा तारबार लगाउन थालेका छन् । हालसम्म कालीतरामा सम्पूर्णरुपमा तारबार गरिएको छ भने साङ्ले र लामितरामा आधा÷आधा भूभागमा तारबार गरिएको छ । बाँकी रहेका हाउरे, कोट, ठाँटी र बुका खोला क्षेत्रमा तारबार गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस