घिमिरेको राजनीतिक उचाइ : पहिलो संसदीय यात्रामै सभामुखको जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख निर्वाचित भएका छन्।
 
गत निर्वाचनमा झापा–२ बाट निर्वाचित घिमिरे एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।
 
पहिलो पटक प्रतिनिधि सभाको निर्वाचन जितेका घिमिरे संसदको पहिलो यात्रामै सभामुख बन्न सफल भएका हुन् ।
 
एमालेमा उनलाई कुशल संगठकका रूपमा चिनिन्छ । संसदमा घिमिरेको पक्षमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
 
त्यसैगरी, सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
 
बिहीबारको संसद बैठकमा २६८ सांसदको उपस्थिति थियो । त्यसमध्ये १६७ सांसदले घिमिरेको पक्षमा मतदान गरे भने १०० जनाले न्यौपानेलाई मत दिए । एक जना सांसद भने तटस्थ रहेका थिए ।
 
२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस