olux

गोरखा देखि काठमाडौंसम्म नेपाली सेनाको “एकीकरण मार्ग” मा पदयात्रा सुरु (फोटाे फिचर)

गोरखा । गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारदेखि पदयात्रा सुरु भएको हो ।

गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट बिहीबार सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले बताए ।

पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका नेपाली सेनाको टोली यात्रामा सहभागी छन् । कालो दौरासलवार, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुकसहित शाहकालीन पोसाकमा सजिएका नेपाली सेनाको शार्दुल जंग गुल्मको टुकडी र नेपाली सेनाको रिपुमर्दन गणले संयुक्त रूपमा गोरखाबाट यात्रा सुरु गरेका हुन् ।

गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोषको दूरीको यात्रा पृथ्वीजयन्तीका दिन पुस २७ गते टुंगिने छ । यात्राको पहिलो दिन नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपक कुमार बानियाले राष्ट्रिय झण्डा तथा टर्च गोरखा खण्डको नेतृत्व गर्ने रिपुमर्दन गणका यात्रामा सहभागी नेपाली सेनालाई हस्तान्तरण गरे ।

टर्च, नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको पहिलो कम्पनी(श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर)को झण्डासहित यात्रा सुरु भएको हो । नेपाली सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।

रिपुमर्दन गणले यात्राको पहिलो दिन बिहीबार हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–बोर्लाङसम्मको पहिलो खण्डको यात्रा पूरा गर्ने छ । गोरखाखण्डको नेतृत्व नेपाली सेनाको रिपुमर्दन गणका उपसेनानी वम बोगटीले गरेका छन् । पहिलो दिनको गोरखा खण्डको यात्रामा ३० जनाको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

बिहीबार साँझ गोरखा–धादिङ सीमा क्षेत्रको घाटबेंसीमा टर्च र झण्डा धादिङको शिवदल गणलाई हस्तान्तरण हुने विष्टले जानकारी दिए । धादिङ खण्डमा शिवदल गणले दुई दिन, नुवाकोट खण्डमा जबरजङ गणले एक दिनको यात्रा हुँदै काठमाडौं पुग्ने गरी यात्रा तय गरिएको छ ।

२६ गते काठमाडौं खण्डको यात्रापछि हस्तान्तरण भएको टर्च र नेपालको राष्ट्रिय झण्डासहित हनुमानढोकाको शार्दुल जंग गुल्म पृथ्वीजयन्ती दिवस कार्यक्रममा सरिक हुने छ ।

यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरका बारेमा भावी पुस्तालाई जानकारी गराउन सघाउ पुग्ने नेपाली सेनाको विश्वास छ । इतिहासको पुनर्जागरण गराउन अभियानले सघाएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए ।

प्रतिक्रिया दिनुहोस