काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ ।
केसीले सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेको थियो । व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो रो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।
उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद गरी प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको थियो ।
बुधबार केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।