भ्याक्सिन छैन, बुष्टर डोज कसरी लगाउने ?

बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढेकाले अतिरिक्त मात्रा (बुष्टर डोज) लगाउन आग्रह गरेको छ ।
दुबै छिमेकी मुलुक चीन र भारतमा बीएफ–७ नामक नयाँ प्रजातिको भेरियन्ट देखा परेकाले मन्त्रालयले सबैलाई बुष्टर डोज लगाउन आग्रह गरेको हो । मन्त्रालयले सीमा नाकामा सजगता अपनाउन पनि भनेको छ ।

बुष्टर डोज लगाउने र नाकामा सतर्कता अपनाउने मन्त्रालयको दुबै आग्रह बाँकेको हकमा मिल्ती देखिदैन । किनकि, बुष्टर डोजका लागि अहिले यहाँ भ्याक्सिन छैन । नेपालगञ्ज नाकामा दशैंदेखि नै कोरोनाको जाँच हुन छोडेको छ । जाँच नै नहुने नाकामा कसरी सजगता अपनाइएला ? जहाँ हेल्थ डेस्कका १९ जना कर्मचारी काम नपाएर बसेका छन् ।

बुष्टर डोज लगाउनु भनेपछि मन्त्रालयले भ्याक्सिन पठाइदिनुपथ्र्यो । त्यसो गर्न सकेको छैन । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले अहिले जिल्लामा भ्याक्सिन नभएको बताउनुभयो । उहाँले जनवरी महिनामा भ्याक्सिन आइपुग्ने जानकारी दिनुभयो ।

बाँके जिल्ला कोरोनाको पहिलो र दोस्रो लहरको हटस्पट नै हो । कोरोनाको महामारी देखेको र खेपेको हुनाले यहाँ कोरोना खोप लगाउनेको प्रतिशत ठिकै छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा कोरोनाको पहिलो खोप ९२.९ प्रतिशत, दोस्रो खोप ८२.१ प्रतिशत र बुष्टर डोज २३ प्रतिशतले लगाएका छन् ।

जिल्लामा छ लाख १९ हजार तीन सय ३६ जनसंख्या छ । त्यसमध्ये १८ वर्षमाथिका चार लाख छ हजार एक सय ६५ छन् । सरकारले प्राथमिकता दिएको बुष्टर डोज एक लाख ३९ हजार तीन सय सातजनाले लगाएका छन् ।

भारतमा नयाँ भेरियन्ट देखा परिसकेकाले त्यो संक्रमण जतिबेला पनि नेपाल भित्रिन सक्छ । सरकारले नाकामा जाँच गर्ने र लक्षण, चिन्ह देखिएकालाई छुट्टै राखेर उपचार गर्नुपर्दछ । नेपालगञ्ज नाकामा जाँच गर्ने संरचना र जनशक्ति पर्याप्त छ । स्पष्ट निर्देशनको अभावमा भइरहेको काम पनि दशैंदेखि रोकिएको छ । मन्त्रालयले आफैले नाकामा सजगता अपनाउन आग्रह गर्ने तर मातहतलाई निर्देशन र चाहिने सामग्री नपठाउने कार्यले बोली र गराइको तालमेल मिलेको देखिदैन ।

भारतमा संक्रमण फैलिने बित्तिकै कामका लागि त्यहाँ पुगेका लाखौं नेपाली घर फर्किन्छन् । यसअघिको महामारीमा यस्तो देखिसकिएको छ । महामारीकै रुप लिइसकेपछि मात्रै तातिने भन्दा पनि अहिलेदेखि नै भारतबाट आउने नेपालीलाई नाकामा राम्ररी जाँच गर्ने र लक्षण चिन्ह देखिएकालाई उपचार गरेर घर पठाउने व्यवस्था मिलाउनु पर्छ ।

नेपालगञ्ज नाकाबाट संक्रमण छिर्नु भनेको कर्णाली प्रदेशका गाउँगाउँमा पुग्नु हो । किनकि, कर्णाली प्रदेशका मानिस यही नाकाबाट भारतमा मौसमी कामका लागि जाने गर्दछन् । फर्किदा पनि यही नाकाबाट फकिन्छन् । गाउँ–गाउँमा पुग्ने संक्रमणलाई सम्बद्ध निकायले राम्ररी काम गर्ने हो भने नाकामै रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस