काठमाडौं। नयाँ सरकार गठनको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका नेताहरू सहभागी रहेका छन्।
भोलि (आइतबार) साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन्।
सहमति जुटाउनका लागि शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।