olux

सामुदायिक विद्यालय: शिक्षक छन्, विद्यार्थी छैनन्

तुलसीपुर । दंगीशरण–७ सिम्ठानीमा रहेको रात्रि प्राथमिक विद्यालयमा यस वर्ष १८ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । शिशुदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ३ मा कोही पनि विद्यार्थी भर्ना भएका छैनन् ।

कक्षा १ मा भर्ना भएका एकजना विद्यार्थी पनि बुवाआमा कमाउन पोखरा गएपछि उतै गए । भर्ना भएका विद्यार्थी पोखरा गएपछि उनको परीक्षा के हुने अन्यौलमा छ । यद्यपि उनी फर्किएपछि विद्यालयले परीक्षा गराएर रिजल्ट तयार गर्न सकिने प्रधानाध्यापक टेकबहादुर हमालले जानकारी दिनुभयो । रात्रि प्राथमिक विद्यालयमा भर्ना भएका सबैभन्दा धेरै शिशु कक्षामा ११ जना विद्यार्थी हो । त्यसपछि सबैभन्दा धेरै विद्यार्थी कक्षा ४ मा पाँचजना भर्ना भएका छन् । यसबाहेक कक्षा २ मा १ जना, कक्षा ५ मा एकजना बिद्यार्थी भर्ना भएका छन् ।

भर्ना भएका भनिएका विद्यार्थी पनि मंसिर २५ गते कक्षा १, २ र ५ का कोही विद्यार्थी विद्यालय आएका थिएनन् । विद्यालयमा शिशु कक्षा र कक्षा ४ मा भर्ना भएका पाँचजना विद्यार्थी विद्यालय आएका थिए । अन्य कक्षाका विद्यार्थीहरु अनियमित हुने गरेका छन् । गत वर्ष उक्त विद्यालयमा शिशु कक्षामा १३ जना विद्यार्थीले पढेका थिए । तिनी सबै विद्यार्थी यस वर्ष उक्त विद्यालयमा भर्ना भएनन् । शिशु कक्षा पढेका सबै बिद्यार्थी निजी विद्यालयमा भर्ना भएको प्रधानाध्यापक हमालले जानकारी दिनुभयो ।

कक्षा ५ सम्म पढाइ हुने रात्रि प्राथमिक विद्यालयमा चारजना शिक्षक कार्यरत छन् । उक्त विद्यालयमा एकजना दरबन्दी, एकजना राहत, एकजना शिशु र एकजनालाई निजी स्रोतबाट ब्यवस्था गरेर शिक्षकको ब्यवस्था गरिएको छ । निजी स्रोतबाट कार्यरत शिक्षकका लागि वडा कार्यालयबाट तलबको ब्यवस्था गरिएको छ । दंगीशरण–७ का स्थानीय भुपबहादुर खड्काले विद्यालयका शिक्षक स्टाफको लापरवाहीका कारण विद्यार्थी भर्ना हुन नसकेको बताउनुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सवाल शिक्षकको हो समुदायले विद्यार्थी दिएर मात्रै भएन उनीहरुको कमजोरी हो।

दंगीशरण गाउँपालिकामा सबैभन्दा थोरै विद्यार्थी भएको रात्रि प्राथमिक विद्यालय हो । थारु समुदायलाई लक्षित गरेर २०३७ सालदेखि रात्रि स्कुलको रुपमा विद्यालय सञ्चालनमा आएको हो । रातिको समयमा पढाइ हुने उक्त विद्यालयमा द्वन्द्वको समयपछि रातिको समयमा पढाइ हुन छोडेको हो । जिल्लामा स्थापना भएका रात्रि स्कुलमध्ये सिम्ठानाको प्राथमिक विद्यालय एक हो । दंगीशरण गाउँपालिकामा एक सयभन्दा कम विद्यार्थी भर्ना भएको विद्यालयको संख्या पाँच रहेको छ । त्यसमध्ये प्रावि मलैखोलामा २१, सरस्वती प्रावि मिरौलीमा २२ जना, रात्रि आधारभूत बिद्यालय बैबाङमा ४५ जना र ज्ञानज्योति प्रावि खलुवाचिसमा ५४ जना बिद्यार्थी भर्ना भएका छन् । यस्तै १०२ जना प्रावि कौवाघारी, १०५ जना आधाभूत विद्यालय बाँकीबेटारपुर र ज्ञानज्योति प्राथमिक विद्यालय बोगटीमा १०७ जना रहेका छन् । अन्य विद्यालयमा एक सय ५० बढीको संख्यामा रहेका छन् ।

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन विभिन्न कार्यक्रमहरु अघि सारेको छ । ती कार्यक्रमले अभिभावकलाई आकर्षण गर्न नसकेको देखिएको छ । रात्रि प्राथमिक विद्यालय सिम्ठानाका प्रधानाध्यापक टेकबहादुर हमालले बिद्यार्थीलाई लक्षित गरेर अघि सारेका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुभयो । विद्यालयमा विद्यार्थीलाई आकर्षण गराउन सरकारले खाजाको ब्यवस्था, निःशुल्क पुस्तकको ब्यवस्था तथा छात्रबत्तिको समेत ब्यवस्था गरेको छ । यस्ता कार्यक्रमले अभिभावकलाई आकर्षण गर्न सकेको छैन ।

हरेक शैक्षिक सत्रको शुरुको समयमा चल्ने भर्ना अभियानका क्रममा समुदायस्तरमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर हमालले जानकारी दिनुभयो तर अभिभावकहरु सन्तानलाई विद्यालयमा भर्ना गर्न तयार नहुने प्रधानाध्यापक हमालको भनाइ छ । विद्यार्थी संख्या बढाउन गाउँपालिकामा रहेको शिक्षा शाखाले सरुवा गरेको शिक्षकको समेत सरुवा फिर्ता गरेको जनाएको छ । शाखा प्रमुख बिनोद अधिकारीले गतवर्ष विद्यार्थी संख्या घटेको गुनासो आएपछि सरुवा भएको शिक्षकको सरुवा फिर्ता गर्दा समेत संख्या नबढेको प्रमुख अधिकारीले बताउनुभयो ।

विद्यार्थीको संख्या कम भएका विद्यालयलाई मर्ज गर्ने तथा विद्यार्थीको अनुपातमा शिक्षक धेरै भएको खण्डमा शिक्षकको मिलान गर्ने शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । मलैखोलाको सन्दर्भमा बाहेक अन्य विद्यालयमा प्रक्रिया शुरु गरिने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस