olux

इलाका प्रशासन पुनर्स्थापना नहुँदा नरैनापुरका नागरिकलाई सास्ती

इलाका प्रशासन कार्यालय पुनर्स्थापना नहुँदा नरैनापुरका सर्वसाधारणले सास्ती खेप्न परेको छ । घरछेउमै रहनुपर्ने इलाका प्रशासन कार्यालय पुनर्स्थापना नहुँदा त्यहाँका सर्वसाधारणलाई नेपाली नागरिकताको परिचयपत्र बनाउन ४२ किलोमिटर टाढा नेपालगन्ज आउनुपर्ने बाध्यता छ ।

दुई–चार घण्टामा हुने कामका लागि समेत नेपालगन्ज आउनुपर्ने बाध्यता रहेको नरैनापुर गाउँपालिका २ लक्ष्मणपुरका सफिक अहमद खाँले बताए ।

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयमा भेटिएका उनले छोराको नागरिकता बनाउन दुई दिनदेखि नेपालगन्जमा रहेको बताए । ‘घरदेखि नजिकै रहेको इलाका प्रशासन कार्यालय लगायत सरकारी कार्यालय विस्थापित भएदेखि सातातिना कामका लागि समेत नेपालगन्ज धाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुई–चार घण्टामा बन्ने कामका लागि पूरै दिन खर्चिनुपर्ने बाध्यता छ ।

इलाका प्रशासन कार्यालय पुनर्स्थापना नहुँदा नागरिकता बनाउन दुई–तिन हजार रुपैँया खर्च भएको नरैनापुर गाउँपालिका ४ नरैनापुरका मोल्हे पठानले बताए । जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा भेटिएका उनले गाडी भाडा, खाजा खर्च गरि दुई–तिन हजार रुपैँया खर्च भएको बताए । ‘समय खर्च भएको हिसाव छैन । गाडी भाडा, खाजा खर्च मात्र दुई–तिन हजार रुपैँया भइसक्यो,’ उनले भने, ‘गाउँमै प्रशासन भइदिएको भए सामान्य खर्चमा काम बन्थ्यो ।’

बाँकेको दुर्गम मानिने नरैनापुरबाट माओवादी द्वन्द्वकालमा इलाका प्रशासन कार्यालय विस्थापित भएको थियो । इलाका प्रशासन त्यहाँ नहुँद नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन ४२ किलोमिटर टाढा सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता छ ।

संघीयताको मर्म र भावना अनुरुप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि गाउँपालिकामा रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । इलाका प्रशासन कार्यालय पुनर्स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी लगायत राज्यका निकायसँग पटक–पटक माग गरे पनि सुनुवाई नभएको उनको गुनासो छ ।

इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्ने निर्णय गाउँपालिकाले गरेको छ,’ अध्यक्ष शाहले भने ।
नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक भएको बताए । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताए ।

बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद सूर्यप्रसाद ढकालले गाउँमा सिंहदरवार भन्ने सरकारको नीति कार्यान्वयनका लागि इलाका प्रशासन कार्यालय स्थापना गरिने बताए । उनले सम्बन्धित निकायमा पुगेर पुनर्स्थापनाका लागि प्रयास गरिरहेको बताए ।

इलाका प्रशासन कार्यालयका कर्मचारी जिल्ला प्रशासन कार्यालयमा बसेर काम गर्र्दै आएका छन् । कर्मचारी र भवन ब्यवस्थापन नभएका कारण नेपालगन्जमै बसेर काम गर्दै आएको प्रशासकिय अधिकृत रामकुमार सोनकरले बताए । कर्मचारी र भवन ब्यवस्थापन हुने वित्तिकै सम्बन्धित ठाउँबाट सेवा प्रवाह गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस