अनेक पृष्ठभूमिका सांसद एउटै हाउसमा

काठमाडौं। प्रदेश र प्रतिनिधिसभाको चुनावमा दलहरुको मुख्य ध्यान थियो– कसरी चुनाव जित्ने । चुनाव जित्ने प्रयोजनका लागि दलहरुले बिचार मिल्ने नमिल्ने सबैसँग तालमेल गरे ।

संघीयता पक्षधर र विरोधीहरुको पनि तालमेल भयो । गणतन्त्र पक्षधर र विरोधी पनि मिले । राजतन्त्र फाल्ने र राजतन्त्र पक्षधरहरु पनि मिले । चुनावी तालमेल अनुसारकै चुनावी परिणाम पनि आएको छ । संघीयता र गणतन्त्र पक्षधरदेखि यो दुबै खारेजीको माग गर्नेहरु माननीय भएका छन् । राजतन्त्रको पक्षधरदेखि राजतन्त्र फालेर आएकाहरु सँगै रहनेछन् ।

दृष्टान्तका लागि कांग्रेस कार्यकर्ता र समर्थकले अहिले कांग्रेस र कांग्रेसका उम्मेदवारलाई मात्र होइन, आफूलाई मन नपरे पनि माओवादी वा गठबन्धनका अन्य दल र उम्मेदवारलाई मतदान गरे । एमालेका कार्यकर्ता र समर्थकले राप्रपाका उम्मेदवारलाई मतदान गरे, राप्रपाले एमालेलाई भोट हाले । यस्तो अभ्यासले थरी थरीका माननीय भएका छन् ।

यसपटक मतदाताले परम्परागत राजनीतिक दलका अलावा भर्खर उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता राजनीतिक दललाई केही मात्रामा रुचाएका छन् । कुनै वाद र बिचार भन्दा जनताको दिनानुदिनका समस्या समाधान गर्ने, सार्वजनिक सेवा प्रवाह चुस्त बनाउने भन्दै जनतामा गएको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो पार्टीका रुपमा उदाएको छ । यसका साथसाथै

जनमत पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि नयाँ दलका रुपमा देखिएका छन् ।

प्रत्यक्षतर्फ ७ सिटमा विजयी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट जितेर कुल २० सिट पुर्याएको छ ।

नेकपा एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन । एकीकृत समाजवादीले समानुपातिक तर्फ मुस्किलले २.८७ प्रतिशत मात्र मत पायो । राष्ट्रिय पार्टी बन्न समानुपातिक तर्फ सदर मतको ३ प्रतिशत चाहिन्छ । यो यसपटकको चुनावमा सम्भव भएन ।

व्यक्तिगत अहंताका कारण पार्टी फुटालेको आरोप खेपेका उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई न्यूनतम मतसमेत ल्याएर राष्ट्रिय पार्टी बनाउन नसक्दा नैतिक जिम्मेवारी कति लिन्छन्, त्यो हेर्न बाँकी नै छ ।

समग्र चुनावी परिणाममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी नै क्रमशः पहिला,दोस्रा र तेस्रा भएका छन् ।

दुई–दुईपटक असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरी मध्यावधि रोजेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले १५० सिटसहित सरकारमा जाने र सिंहदरबारको मूल गेटबाट छिर्ने भनी मत मागेका थिए । तर लोकप्रिय मतमा उक्त पार्टी अगाडि भए पनि उम्मेदवार संख्याका हिसाबले नपाली कांग्रेसभन्दा पछाडि परेको छ ।
यसपटक नागरिक उन्मुक्ति पार्टीले ३ र जनमत पार्टीले २ सिट प्रत्यक्षतर्फ जितेको छ ।

राजतन्त्र पुन:स्थापनाको एजेन्डा बोकेको १४ सिटे राप्रपालाई गणतन्त्रवादी दलहरुले नै तालमेलबाट अगाडि बढाएका हुन् । राप्रपासँग नेकपा एमालेले चुनावी तालमेल गरेको थियो । उक्त पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले त आफू प्रधानमन्त्रीको दाबेदार भएको घोषणा नै गरिसके । बेथिति र भ्रष्टाचारबारे युट्युबमा टिप्पणी गर्ने उनी सामाजिक अभियान्ताका रुपमा परिचित छन् । उनले माओवादी केन्द्रकी गोमा गौतमलाई पराजित गरी संसद सिट पक्का गरेका हुन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हर्क साम्पाङको शैली पछ्याउँदै श्रमदान गर्दै हिडेका छन् । नगरपालिकासँग बजेट हुन्छ । नीति कार्यक्रम हुन्छ । मेयरले चाहेमा पालिकाभित्र आमूल परिवर्तन गर्न सकिन्छ । स्थानीय तह स्थानीय सरकार नै हुन् । यसकारण हर्क साम्पाङले गरेको श्रमदानले अलगै अर्थ र महत्व राख्दछ । रवि लामिछानेको उनैको सिको गरेर अघि बढ्ने प्रयास अर्थहीन छ । किनभने सांसद भनेको मुलुकको नीति निर्माता हुन् । विकासे अड्डाका कर्मचारी होइनन् ।

रास्वपाका सभापति रवि लामिछाने यसअघि कुनै राजनीतिमा संलग्न थिएनन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रहेका लामिछाने पहिलो प्रयासमै चितवन–२ बाट चुनाव जितेर संसद प्रवेश गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी उपाध्यक्ष पनि हुन् । प्रतिस्पर्धी एमालेका मणिराम फुयाललाई पराजित गरी पहिलो प्रयासमै सांसद बनेकी सोविता गौतम नेपाल टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता समेत हुन् ।

काठमाडौं क्षेत्र नं. ६ बाट पनि पहिलो प्रयासमै रास्वपाका उम्मेदवार शिशिर खनाल संसाद बनेका छन् । उनले नेपाली कांग्रेसका भीमसेन दास प्रधान र नेकपा एमालेका सवेन्द्र खनाललाई पराजित गर्दै सांसद बनेका हुन् । शिशिर खनाल शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका टिच फर नेपालका सहसंस्थापक समेत हुन् ।

काठमाडौं क्षेत्र नं. ७ मा पनि भर्खरै मात्र राजनीतिमा होमिएका रास्वपाका उम्मेदवार गणेश पराजुलीले हेभीवेट नेतालाई पराजित गर्दै पहिलो प्रयासमा नै सांसद बन्न सफल भएका छन् ।
डा.तोसिमा कार्की पनि पहिलो प्रयासमै ललितपुर क्षेत्र नं. ३ बाट हेभीवेट नेता नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनकी उम्मेदवार उर्जा मन्त्री पम्फा भुसाललाई पराजित गरी सांसद बन्न सफल भएकी छन् ।

यता चितवन २ बाट पनि हरि ढकाल पहिलो प्रयासमै सांसद भएका छन् । ढकालले एमाले नेता एंव पूवअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता एंव अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गरी पहिलो प्रयासमै सांसद बनेका छन् ।

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै पहिलो प्रयासमै सांसदको यात्रा तय गर्न सफल भए । उनले सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएर स्वतन्त्र मधेशको अभियान चलाएका थिए । अहिले उनी संविधान मानेर अगाडि बढेका नेता हुन् ।

प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्री पनि सांसद मा नयाँ अनुहार हुन् । उनले केपी शर्मा ओली र झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए ।

बाँके २ बाट पनि धवलशम्मशेर जंगबहादर राणा पहिलो प्रयासमै सांसद बनेका छन् । उनी २०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर भएका थिए । उनी संसदमा नया अनुहार हुन् ।

बर्दिया २ बाट रेशम चौधरीका बुवा लालवीर चौधरी पनि पहिलो प्रयासमै सांसद बनेका छन् । उनी उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । जसले सत्ता गठबन्धनलाई पराजित गर्दै स्वतन्त्रबाटै सांसद बने । कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ पहिलो प्रयासमै संसदीय यात्रा तय गरेकी छन् । उनी राजनीतिमा प्रवेश गर्नुभन्दा पहिले पत्रकारितामा आवद्धा थिइन् ।

संसदमा संघीयताको पक्षधर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश खारेजीको माग राख्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पनि चुनाव जिताएर माननीय बनाएका छन् ।

नेपालले अवलम्बन गरेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र हो । यो व्यवस्थाका लागि राजतन्त्र फाल्न मुलुकले १० वर्षे शसस्त्र युद्ध भोग्नु परेको थियो । तर, यसपटकको संसदमा राजतन्त्रको पुनस्थापनाको एजेण्डा बोक्ने देखि प्रदेश खारेजीको माग गर्नेहरुसम्म पनि माननीय भएका छन् । वर्तमान व्यवस्थाका पक्षधरहरुको बहुमत भए पनि सबै थरीको वाद र बिचारको प्रतिनिधित्व संसदमा छ ।

प्रतिक्रिया दिनुहोस