नेपालगन्ज । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको संख्या बढेको छ। पछिल्लो केही समय यता पश्चिमी सीमानाका रुपैडिया भएर भारत जानेको संख्या बढेको हो।
चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन्। ‘मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन’, सल्यानका गणेश रोकाले भने, ‘जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ।’ पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिनुपर्ने बाध्यता हटाउने पर्ने दाङका कमल बोहरा बताउँछन्।
‘चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे’, उनले भने, ‘चुनावको उत्सवमा मतदान गर्यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन।’ स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताए। ‘स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन’, उनले भने, ‘त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ।’
संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ। ‘संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो’, उनले भने, ‘तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ।
‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ’, रुकुमका दुर्गा बोहराले भने, ‘नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस्।’ कामको खोजीमा दाङ,सल्यान,रुकुमगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन्।
भारतको रुपैडिहाबाट छुट्ने पुराना बसमा नेपालीमात्रै देखिन्छन् । यस्तो दृश्य चाडबाड र धान रोप्ने बेलामा फर्किने र त्यसपछि जानेको हुने गर्दछ । अहिले रुपैडियाबाट नेपालीमात्रै भरिएर दैनिक ७-८ वटा बस गइरहेको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले दैनिक चार पाँचसय बढी नेपाली कामका लागि भारततिर गइरहेको बताएको छ। नेपालगञ्ज नाकाबाट किनमेल गर्न जाने नेपालीको संख्या अधिक छ ।
यसको बीचमा कामका लागि भारत जानेहरु प्रष्ट चिनिने गर्दछ । नाकाबाटै टिकट काटेर यहीबाट बस चढेर कामका लागि जाने भएकाले नेपालीहरु बीच सडकमा लुटिने घटना रोकिएको छ।