कम्युनिष्ट विनाको नयाँ गठबन्धनको सम्भावना कस्तो छ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा छन् ।

शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुमत पुग्ने देखिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन भए पुग्नेछ । जुन संख्या कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि लगभग कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै भइसकेको छ ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ । तर, हालसम्मको विवरणअनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो ।

सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिने हुँदा इतरसमूहबाट साेही संख्यामा सांसद निर्वाचित भएका छन् । ५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जनअनुसार कांग्रेसको ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनको समेत जोड्दा ९० सांसद पुग्नेछ ।

प्रत्यक्षमा सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउनेछ । उसको जम्मा २१ जना सांसद रहने देखिन्छ । सात सिट जितेको राप्रपाले समानुपातिकमा सात सिट नै पाउँदा १४ जना सांसद हुन्छन् ।

निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेकाे थियाे । राप्रपा वामपन्थी पार्टी हाेइन । ऊ दक्षिणपन्थी पार्टी भएकाले सरकार बनाउने बेला उसकाे भूमिका कस्ताे रहन्छ अहिले नै खुलिसकेकाे छैन । राप्रपाका नेताहरूले सरकारमा नजाने बताउन थालेका छन् ।
एक सिट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वकाे जनमत पार्टीले समानुपातिकमा चार सिट पाउनेछ । उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन् ।

यसैगरी प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन् । रेशम चाैधरीका बाबु लालवीर चाैधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।
तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ ।

प्रभु साहसहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन् । साह एमालेकाे टिकट लिएर अन्तिममा साे पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस