नेपालगन्ज । नेपालगन्ज क्षेत्रको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा देखिएको समस्या अब रहने छैन । एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि सो समस्या समाधान हुने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–२३, हिरमिनियास्थित ल्यान्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकालाई फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जीआइजेडले दुई वटा अटोक्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । आवश्यक संरचना भने पालिकाले निर्माण गरेको हो ।
संरचना निर्माणमा मात्र ४६ लाख लागत लागेको उपमहानगरको वातावरण शाखाका प्रमुख प्रकाश डीसीले बताए । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिइएको उनले बताए।
वातावरण शाखाका प्रमुख डीसीका अनुसार स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापनको समस्या समाधान भएको छ । नेपालगन्जका अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर अब सोही केन्द्रमा व्यवस्थापन हुनेछ ।
उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दूषित र संक्रामक हुने भएकाले यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै यो केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको सिङ्गो टिम नेपालकै नमुना स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताए ।