विश्व एड्स दिवस : एड्सबाट बाँकेमा एक सय ७० जनाको मृत्यू

बाँके । विश्वभर एड्स दिवस मनाइरहँदा एड्सबाट बाँकेमा एक सय ७० जना एचआइभी संक्रमितको मृत्यू भएको छ । १८ वर्षअघि पहिलो संक्रमित फेला परेको बाँकेमा संक्रमण दर घटे पनि संक्रमितको संख्या हरेक बर्ष थपिदै गएको छ ।

आर्थिक वर्ष ०७८–०७९ मा ११ हजार ७४५ जनाको एचआइभी जाँच गर्दा एक सय ५७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन मानव नेपालीले जानकारी दिए । योसँगै संंक्रमितको संख्या एक हजार चार सय ९१ पुगेको छ ।

बाँकेका पाँच सय ३८ जना संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको भेरी अस्पतालका एचआइभी/एड्स फोकल पर्सन समेत रहेका ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा. संकेतकुमार रिसालले बताए । ति मध्ये ११ बालिका र १४ बालक गरि २५ बालबालिकाले पनि भेरी अस्पतालबाट एआरटी विधिमार्फत उपचार सेवा लिइरहेका छन् ।

एचआइभी संक्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी संक्रमण हुन नदिन अस्पतालमा पिएमटीसिटी सेवा लागू गरिएको छ । गर्भ रहेदेखि चिकित्सकको निगरानीमा रहेका ९९ प्रतिशत एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउने गरेको उनको भनाई छ ।


एचआइभी संक्रमण दर घटाउन अस्पतालले सुईबाट लागुऔषध सेवन गर्नेलाई मौखिक पद्धतीबाट लागुऔषध दिने गरिएको एएचएफ नेपालगन्जका प्रमुख संजयकुमार पौडेलले बताए । उनले भेरी अस्पतालबाट ८० जना लागुऔषध प्रयोगकर्ताले मौखिक पद्धतीबाट लागुऔषध सेवन गर्दै आएको जानकारी दिए ।
उनले सिडिफोर कम भएका संक्रमितलाई एआरटी विधि मार्फत उपचार दिँदै आएको बताए । उनले नेपालमा जोखिम समूहमा संक्रमण दर ५ प्रतिशत भन्दा बढी भए पनि सामान्य जनसंख्यामा संक्रमण दर १ प्रतिशत भन्दा कम रहेको बताए ।

नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि बिदेसिनेहरु एचआइभीको उच्च जोखिममा रहेका छन् । ‘यी मध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा संक्रमण दर अरु जोखिम समूह भन्दा उच्च छ,’ उनले भने ।

दिवसका अवसरमा डा. रिसाललाई सम्मान

यसैवीच, बाँकेमा पनि विहीवार विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । भेरी अस्पतालबाट धम्बोझी चोकसम्म एचआइभी/एड्स सम्बन्धि सचेतनामुलक र्याली निकालिएको थियो । र्याली पछि धम्बोझी चोकमा एचआइभी/एड्स सम्बन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरिनुका साथै हाजिरी जवाफ प्रतियोगिता गरिएको जुनकिरी महिला समूहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरले जानकारी दिए ।

दिवसको अवसरमा भेरी अस्पतालका ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा. संकेत रिसाललाई सम्मान गरिएको उनले बताए । डा. रिसालले एचआइभी संक्रमितको उपचार तथा ब्यवस्थापनमा अतुलनिय योगदान पुर्याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस