डोल्पामा सवैभन्दा धेरै समानुपातिक तर्फको मतपत्र बदर

मंसिर १२ गते । डोल्पा भौगोलिक हिसाबले ठुलो र हिमाली जिल्ला हो । प्रतिनिधि सभा सदस्यको लागि एउटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको लागि २ वटा निर्वाचन क्षेत्र रहेको डोल्पा जिल्लामा यहि मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । डोल्पामा जम्मा ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरि ६८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक सवै गरि जम्मा १ हजार २ सय ९४ मतपत्र बदर भएको छ ।

यहि मंसिर ४ गतेको निर्वाचनमा डोल्पा जिल्लामा जम्मा २२ हजार ७ सय ७४ मतदाता रहेका थिए भने जस मध्य प्रतिनिधि सभा सदस्यको लागि १७ हजार ८ सय ३४ मत खसेको थियो । जस मध्य १७ हजार ५ सय २१ मत सदर भएको छ भने ३ सय १३ मत बदर भएको छ ।

यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क मा जम्मा मतदाता ९ हजार ५ सय ६६ मध्य ७ हजार ५ सय १८ मत खसेको थियो । जस मध्य ७ हजार ३ सय ३६ मत सदर भयो भने १ सय ८२ मत बदर भएको थियो । यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ख मा जम्मा १३ हजार २ सय ७ मतदाता मध्य १० हजार ३ सय १६ मत खसेको थियो । जस मध्य १० हजार १ सय ७९ मत सदर भयो भने १ सय ३७ मत बदर भयो ।

यस्तै डोल्पामा समानुपातिक तर्फ जम्मा २३ हजार ७९ मतदाता मध्य १८ हजार ३ सय १५ मत खसेको थियो । जस मध्य १७ हजार ३ सय ८३ मत सदर भयो भने ६ सय ३२ मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिक मतको बदर हेर्नेहो भने डोल्पामा सवै भन्दा बढि समानुपातिक तर्फको मत बदर भएको देखिन्छ ।

विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले चुनाव चिन्ह् सिकाउदा प्रत्यक्ष तर्फको मात्र मतपत्रमा स्वस्तीक छाप लगाउन सिकाउनु र निर्वाचन आयोगले मतदाता शिक्षाको लागि परिचालन गरेका स्वयंसेवक तथा कर्मचारीले प्रत्यक्ष तर्फको मात्र मतपत्रको बारेमा मतदाता शिक्षा दिदा प्रत्यक्ष तर्फको भन्दा पनि समानुपातिक तर्फको मतपत्र धेरै बदर भएको हुन सक्ने विभिन्न बिश्लेषकहरुले बताउने गरेका छन । उम्मेदवारहरुले प्रत्यक्ष तर्फको मतपत्रलाई ध्यान दिनु अनि मतदाताले समानुपातिक तर्फको मतपत्रको महत्व नबुझ्नुले पनि प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फको मतपत्र धेरै बदर भएको हुन सक्ने बिश्लेषकहरुको भनाई छ ।आगामी निर्वाचनहरुमा प्रत्यक्ष संगै समानुपातिक तर्फको मतपत्रको बारेमा मतदाताहरुलाई मतदाता शिक्षा दिनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस