दाङ । एमाले महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनितीक स्थायित्वमा लैजाने प्रयास असफल भएको बताएका छन् । शुक्रबार घोराहीमा पत्रकार भेटघाट गरी मतदातालाई धन्यवाद दिने क्रममा बोल्दै उनले निर्वाचनको नतिजाले देशमा थप अस्थिरताको संकेत गरेको बताए ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनले निर्वाचनको समिक्षा गर्दै पत्रकार भेटघाट आयोजना गरेका हुन् । आफ्नो पराजयलाई मुलुकको राजनिति र पार्टी थप सुदृढ बनाउने अवसरका रूपमा लिएको उनले बताए । अब आफ्नो ध्यान स्थिर राजनीतितर्फ केन्द्रीत हुने उनले बताए ।
अब सरकार एजेण्डामा आधारित भएर निर्माण हुनुपर्ने धारणा उनले व्यक्त गरे । मुलुकको समृद्धीका लागि बलियो राष्ट्रिय शक्ती आबश्यक परेको उनले बताए । धेरै राजनीतिक दलभन्दा एउटा बलियो शक्ती जरूरी भएको र आफू अब त्यसतर्फ क्रियाशिल हुने उनले बताए ।
दाङ-२ बाट सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी छिन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरिन् भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । शर्माले १ सय ९६ मतान्तरले जितेकी हुन् । यस क्षेत्रमा ७९ हजार ४ सय ४६ मत खसेको थियो ।
शर्मा २०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भई २०७२ मा सामान्य प्रशासनमन्त्री तथा संविधानसभामा माओवादी सचेतक भएकी थिइन् ।उनी २०७४ मा पनि समानुपातिक प्रणालीबाटै सांसद बनेर माओवादी केन्द्रको प्रमुख सचेतक बनेकी थिइन् ।
पोख्रेल ०५१ मा सांसद् तथा ०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भई ०६६ मा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पोख्रेल २०७४ मा यही क्षेत्रको प्रदेशसभा ९१० बाट निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।