डोल्पा, मंसिर १, गते । मंसिर चार गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुन अव ३ दिन मात्र बाकीँ छ । चुनाव हुन ३ दिन बाकीँ रहदा उत्तरी सिमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी मतपत्र लगायतका सामाग्री हेलिकप्टर मार्फत पठाउन थालिएको छ । जिल्लाका ६८ वटा मतदान केन्द्र मध्य उपल्लो डोल्पाका १२ ओटा मतदान केन्द्रमा हेलिकप्टरबाट पठाउन थालिएको हो ।
कर्मचारी मतपत्र लगायत निर्वाचन सामाग्री लैजान हेलिकप्टरको प्रयोग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
सदरमुकाम दुनैदेखि पैदलमार्ग मार्फत एक साता सम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको ४ वटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको १ वटा मतदान केन्द्र र शे फोक्सुण्डो गाउँपालिकाको ७ वटा मतदान केन्द्र गरि जम्मा १२ वटा मतदान केन्द्रमा हेलिको प्रयोग गरि निर्वाचन सामाग्री र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनु भयो ।
उहाँका अनुसार मतदान सकिएपछि पनि मतपत्र निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मि समेत हेलिकप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोग संग आग्रह गरिएको छ ।
भौगोलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पुर्व तयारी गर्न समस्या देखिएपछि हेलिको प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपल्लो क्षेत्रमा पर्ने २२ ओटा मतदान केन्द्रको लागि हेलिकप्टरको माग गरिएपनि निर्वाचन आयोगले संवेदनशिलताको हिसावमा १२ मतदान केन्द्रको लागि मात्र हेलिको ब्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनु भयो ।
आज विहिवार शे फोक्सुण्डोको वडा नं. ३ साल्दांग मतदान केन्द्रमा र छार्काको एउटा मतदान केन्द्रमा दुई फलाईट हेलिकप्टरको प्रयोग गरि निर्वाचन सामाग्री र कर्मचारी पठाईएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर बुधबार आएता पनि अबेर भएको र हावा धेरै चलेको कारण उड्न सकेको थिएन । आज तिन फलाईट उडान गरेर पुन तेल ल्याउन सुर्खेत गएर डोल्पा फर्किएको र भोलि विहाना देखि बाकीँ १० वटा मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पठाउने तयारी भैरहेको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पाका १२ मतदान केन्द्र बाहेकका अन्य मतदान केन्द्रहरुको लागि मतपत्र लगायतका निर्वाचन सामाग्री घोडाखच्चड र मानिसको पिठूयुमा बाकेरै मतदान केन्द्र तर्फ कर्मचारीहरु केहि जादै गरेको र केहि पुगिसकेको जनाईएको छ ।