olux

मत बदर कम गर्न दंगिशरणमा मतदाता शिक्षामा युवाहरूको जोड

दाङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत बदर कम गर्न दंगिशरण गाउँपालिकामा मतदाता शिक्षा अभियान तीव्र पारेको छ । दंगिशरणका युवाहरुले मतदान गर्ने विधि र मत पत्रको बारेमा जानकारी दिन वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा अभियान संचालन गरिएको छ ।

मतदाता शिक्षा कमजोर हुँदा दंगिशरणमा मत वदर हुने गरेपछि युवाहरूले मतदाताको घरदैलोमै पुगेर मतदान स्थल, मतपत्रको प्रकार र स्वस्तिक छाप लगाउने विधिका बारेमा शिक्षा दिइएको दंगिशरण २ का चक्रमिलन विश्वकर्माले बताए । ‘निर्वाचनमा सहि तरिकाले मतदान गरि मत बदरको संख्या घटाउने मतदाता शिक्षाको मुख्य उद्देश्य हो,’ उनले भने ।

मत बदर हुँदा आफूले चाहेको उम्मेदवार पराजित हुने खतरा रहेकोले न्यूनीकरण गर्न ७ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको अर्का युवा खुसीराम चौधरीले बताए । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ । मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ ,’ उनले भने ।

मतदाता शिक्षा संचालन गर्न नसकिएका कारण स्थानीय तह निर्वाचनमा मत धेरै बदर भएको पुर्व गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । उनले मतदाता शिक्षा संचालन नगरेकै कारण मत बढी बदर भयो,’ उनले भने, ‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए मत बदर घटाउन सकिनेमा हामी विश्वस्त छौँ ।’

प्रतिक्रिया दिनुहोस