बलियो संगठन भएका छविलालमाथि एक्ला घनश्याम हाबी ! कसले मार्ला बाजी ?

रुपन्देही । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटमा भेदभाव गरेपछि एमाले त्यागेर स्वतन्त्र उठेका घनश्याम भुसालका कारण रुपन्देही १ अहिले निकै चर्चामा छ । एमालेलाई रुपान्तरण गर्नुपर्छ भन्दै मरिमेटेका नेता भुसालको एमाले छोड्ने निर्णय अनपेक्षित थियो । त्यस्तै उनको स्वतन्त्र उम्मेद्वारी, त्यसपछि सत्ता गठबन्धनले समर्थन पनि अनपेक्षित थियो ।

माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा आफ्ना उम्मेदवारलाई ब्याक गरेर घनश्यामलाई माओवादीले गरेको समर्थन पनि पार्टीका लागि चुनौतीकै विषय थियो । चुनावी मैदानमा घनश्यामसँग कांग्रेस, माओवादी र एकीकृत समाजवादी एकातिर र अर्कातिर एमाले, जसपा र राप्रपा बनेको यो चुनावी प्रतिस्पर्धा निकै रोचक देखिन्छ ।

रुपन्देही-१ मा एमाले सचिव छविलाल विश्वकर्मा बलिया उम्मेदवार रहेपनि एमालेबाट वि’द्रोही उम्मेदवार भुसाल र उनलाई सत्ता गठबन्धनले गरेको समर्थनपछि भने माहोल अन्तै मोडिएको छ । पूर्व सहकर्मी विश्वकर्मा र भुसालको भिडन्तले पनि यो क्षेत्र चर्चाको केन्द्र बनेको हो।सरसर्ती हेर्दा एमाले र एमालेकै असन्तुष्ट पक्षबीचको ल’डाइँ जस्तो देखिए पनि सत्तारूढ र विपक्षी गठबन्धनबीचको प्रतिस्पर्धा रोचक बन्दै

गएको छ। २०५१ सालयता दुवै जना पटक पटक सांसद बनेका छन्। गत निर्वाचनमा विश्वकर्माले रुपेन्देही-१ बाटै निर्वाचित भएका थिए।पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा भुसाल एमालेका तर्फबाट रुपन्देही-३ बाट निर्वाचित भएका थिए। उनले ३२ हजार ८६६ मत पाएका थिए भन प्रतिस्पर्धी राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत पाएका थिए।

रुपन्देही-३ मा भने यसपटक राप्रपाका बोहरा कांग्रेसका बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा छन्।२०७४ सालको मतका आधारमा यो क्षेत्रको चुनावी विश्लेषण गर्न मिल्दैन। किनकी यतिबेला एमालेभित्र पनि दुई पार्टी जस्तै समूह बनेका छन् । त्यसमाथि त्यति वेलाका प्रतिस्पर्धीबीच होइन, सहकर्मीबीच अहिले प्रतिस्पर्धा भइरहेको छ।

एमाले र एमालेकै विद्रोही उम्मेदवार प्रतिस्पर्धामा भएकाले चुनावी माहोल नै फरक बनेको छ। घनाश्यामका लागि मत माग्न कतिपय एमालेकै नेताहरू खटिएका छन् बने कतिपयले मौन समर्थन गरिरहेका छन् । विश्वकर्मा र भुसालबीचको प्रतिस्पर्धालाई लिएर एमालेकै कतिपय कार्यकर्ता भने अन्योलमा छन्।

एमालेभित्रै पनि कोही भुसाललाई पार्टीले अन्याय गरेको ठान्छन् भने कोही अवसरवादी भन्छन् । बाहिरबाट हेर्ने जो कसैले पनि यस क्षेत्रको आँकलन गर्न सक्दैनन् । मतदाता समेत अन्योलमा परेको यो क्षेत्रमा बाहिरिले आंकलन गर्न सक्ने कुरै भएन । यो क्षेत्रमा एमालेको बलियो सांगठनिक आधार थियो।

गत स्थानीय तहको निर्वाचनमा एमाले कार्यकर्ताबीच यस्तो अन्योल पनि थिएन। केही ठाउँमा असन्तुष्टि भए पनि स्थानीय तहमा एमालेले गठबन्धनभन्दा धेरै मत ल्यायो। वडाध्यक्षका उम्मेदवारले पाएको एमाले, जसपा र राप्रपाको मत जोड्दा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका उम्मेदवारको भन्दा करीब १० हजार बढी छ।

स्थानीय निर्वाचनमा बलियो देखिएपनि प्रतिनिधि सभाका उम्मेदवारलाई सबै जाने सम्भावना न्यून देखिन्छ । स्थानीय तहमा व्यक्ति हेरेर मतदान गरिए पनि प्रतिनिधि सभामा त्यस्तो देखिंदैन । स्थानीय तहको निर्वाचनपछि रुपन्देही-१ मा एमालेभित्र अहिले निकै अन्तर्विरोध देखिएको नेताहरू बताउँछन्।

रुपन्देही १ मा भुसालले एमालेमा गरेको लगातार सुधारको प्रयास, सधै उपेक्षामा परेको पिडा र उनले गरेको विद्रोहमा सहानुभूति देखाउने एमालेको ठूलो समूह छ। त्यसमाथि एमालेको ओली समूह र नेता विश्वकर्मासँग असन्तुष्ट बनेको ठूलो समूह छ । त्यसमाथि घनश्याम वौद्धिक नेता हुन् भनेर सहानुभूति राख्ने एमालेभित्रै अर्को समूह छ ।

घनश्यामलाई यही क्षेत्रमा उठ्न प्रेरित गर्ने एमालेको एउटा ठूलो समूह छ । एमाले देवदह नगर कमिटीका पूर्व अध्यक्ष टीकाराम चापागाईंसहितको यो समूह पहिले भने विश्वकर्मालाई जिताउन खटिएको थियो। स्थानीय तहको चुनावमा देवदहको मेयरको टिकटका आकांक्षी रहेका चापागाईंलाई विश्वकर्माले उपेक्षा गरेपछि माहोल भड्किएको थियो ।

विश्वकर्माकै कारण टिकट नपाएका चापागाईं अहिले घनश्याम क्याम्पमा छन् ।त्यतिमात्र होइन स्थानीय निर्वाचनले विश्वकर्माको माहोल थप बिग्रेको एमालेकै नेताहरू बताउँछन् । एमालेमा लामो समय काम गरेका कार्यकर्तालाई बेवास्ता गरेर विश्वकर्माले नवप्रवेशीलाई टिकट दिएको नेताहरूको आ’रोप छ।

जसपाबाट एमाले प्रवेश गरेका रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज यादवले गाउँपालिका अध्यक्षको टिकट पाएका थिए। त्यस्तै, माओवादीबाट प्रवेश गरेकी बसन्ती पाण्डेले रोहिणी गाउँपालिका उपाध्यक्ष र निर्मालाकुमारी केवटले ओमसतिया गाउँपालिका उपाध्यक्षको टिकट पाएका थिए। नेता विश्वकर्माले उनीहरूलाई भित्र्याएर टिकट दिएको एमाले कार्यकर्ताको आरोप थियो।

जसका कारण एमाले जिल्ला कमिटी सदस्य सञ्जय गुप्ता, मीना पाण्डे, रोहिणी गाउँ कमिटी सहसचिव अनिता हरिजन, भोला क्षत्री, राज त्रिपाठी लगायतले स्थानीय निर्वाचनअघि एमाले छाडेका थिए। एमाले त्यागेकी रोहिणी गाउँपालिकाकी पूर्व सहसचिव हरिजन पार्टीलाई दिएको योगदानको कदर नभएको गुनासो गर्छिन ।

त्यसमाथि कांग्रेस, माओवादी र एकीकृत समाजवादी घनश्यामलाई जिताउन एकढिक्का भएका छन् । एमालेभित्रको अन्तर्विरोधको लाभ अर्कातिर गठबन्धनको बलियो साथ् नै उनको बलियो आधार बनेको छ ।घनश्याम विद्रोही उम्मेदवार भएकाले संगठित मत भने छैन। यो क्षेत्रमा एमाले र कांग्रेस नै बलिया मानिन्छन्।

त्यसैले, भुसालका लागि कांग्रेस नै महत्त्वपूर्ण देखिएको छ। रुपन्देही-१ मा माओवादी र एकीकृत समाजवादीको सांगठनिक आधार पनि त्यति बलियो छैन।मधेश, मुस्लिम र पहाडी सबै मतदाता समेटिएको यो क्षेत्रमा मधेशका मत पाउन कांग्रेसले रुपन्देही-१ (क)मा विश्वनाथ यादवलाई उम्मेदवार बनाएको छ।

मुस्लिम मतका लागि कांग्रेसले रुपन्देही-१ (ख)मा अब्दुल रज्जाकलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।प्रतिनिधि सभा सदस्यमा कांग्रेसको उम्मेदवार नभएकाले ती मत तान्न प्रदेश सभा सदस्यका उम्मेदवार यादव र रज्जाकका चुनावी प्रचारप्रसार कार्यक्रममा भुसाल सहभागी हुँदै आएका छन्।

त्यस्तै, कांग्रेसका अन्य उम्मेदवारका चुनावी कार्यक्रममा पनि भुसाल सहभागी भइरहेका छन्। कात्तिक ९ गते तिलोत्तमामा आयोजित एक कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणसँगै सहभागी भएका थिए।भुसालसँग प्रचारप्रसारमा सँगसँगै हिंडिरहेका कांग्रेसका क्षेत्रीय सभापति हिरा केसी कांग्रेसले एकढिक्का भएर भुसाललाई सहयोग गर्ने बताउँछन्।

एमालेको आन्तरिक वि’वाद र स्थानीय कमिटीमा देखिएको असन्तुष्टि विश्वकर्माका चुनौतीका रूपमा देखिएका छन्। एकातिर एमालेका मत सुरक्षित गर्नुपर्ने तथा अर्कातिर जसपा र राप्रपाको मत तान्नुपर्ने चुनौती विश्वकर्मासामु छ। अहिलेसम्मको चुनावी अवस्था हेर्दा विश्वकर्माभन्दा भुसाल नै बलियो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस