दाङ । दाङ क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार हुकुम बस्नेतको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ ।
नेकपा एमालेका दाङ जिल्ला अध्यक्ष समेत रहेका बस्नेतको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि हुकुम बस्नेतलाई जिताउने उनीहरुको अठोट छ ।
शान्तिनगर गाउँपालिका– ७ का सुनिल रावतले पहिलोपटक यसपालि मतदान गर्दैछन् । तर उनले हुकुम हुकुमलाई मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । `हुकुम बस्नेत मलाई मन पर्ने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन दाङकै विकास हुन्छ।
रावत जस्तै अर्का युवा मतदाता गोविन्द डाँगी पनि बस्नेतको पक्षमा खुलेर लागेका छन् । पारिवारिक पृष्ठभूमि काङ्ग्रेस भए पनि यसपालि हुकुम बस्नेतलाई नै मतदान गर्ने उनी बताउँछन् ।
आफ्नो क्षेत्रका जनताको सुखदुःखमा सधैं साथ दिँदै आएका प्रभावशाली नेता बस्नेतलाई मतदान गर्न उनले अन्य युवालाई पनि आग्रह गरे ।
रावत र डाँगी त उदाहरण मात्रै हुन्, यसपालि पटकपटक मतदान गर्ने धेरै युवाको रोजाइमा बस्नेत परेका छन् । चुनाव प्रचारका क्रममा भेटिएका युवा मात्रै होइन ज्येष्ठ नागरिक पनि यसपटक बस्नेतले जित्नेमा ढुक्क छन् ।
दङ्गिशरण ७ का कृष्ण शर्मा गत असोजबाट ९४ वर्ष पार गरेका छन् । तर उनी बस्नेतको चुनावी प्रचारमा लौरो टेकेर हिंडिरहेका छन् ।
उनले भने, ‘हुकुम बस्नेतजी देशको नेतृत्व गर्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई जिताएर पठाए यस क्षेत्रको विकास हुने थियो ।’ बस्नेत स्पष्ट वक्ता भएको शर्माको भनाइ छ ।
प्रचारमै भेटिएकी तुलसा बस्नेतले एमालेलाई जिताउनुपर्नेमा जोड दिइन् । यसैबीच, बस्नेतले दाङ क्षेत्र नम्बर ३ (ख)का विभिन्न वडा र टोलमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनले मतदातालाई भेटेर सुखदुःख र स्थानीय समस्यासमेत बुझ्ने काम गरिरहेका छन् । दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा कोमल वली, प्रदेशसभा ३ (क) मा घनश्याम पाण्डे उम्मेदवार बनेका छन् ।