कार्तिक, २० डोल्पा – आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका १४ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । नेपालको कानुन अनुसार विभिन्न केसमा कैद भुक्तान गरिरहेका १४ जना कैदीबन्दीहरुले मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन । जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लाबाटै मतदाता नामावली भएका १४ जनाले निर्वाचनको दिनमा नेपालको संविधान र निर्वाचन आयोगको व्यवस्था अनुसार मतदान गर्ने व्यवस्था मिलाईएको जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकृत राम बहादुर सार्कीले जानकारी दिनुभएको छ । नेपालको संविधान अनुसार जुन स्थानमा कैद भुक्तान गरिरहेको छ त्यही ठाउँमा मतदाता नामावली परिचय पत्र भएको कैदीबन्दीले मतदान गर्ने निर्वाचन अधिकृत सार्कीले बताउनु भयो ।
जिल्ला कारागार डोल्पामा हाल १९ जना कैदीबन्दी र एक जना थुनुवा गरि जम्मा २० जनाले कैद भुक्तान गरिरहेका छन । जिल्ला कारागार डोल्पामा २० जनानै पुरुष रहेको र महिला कैदीबन्दी राख्नको लागि कोठा भएपनि हाल सम्म खाली रहेको जिल्ला कारागार डोल्पाका प्रमुख दिर्घराज रोकायाले जानकारी दिनुभयो । निर्वाचन आयोगको पत्रअनुसार सवै कैदीबन्दीको मतदाता नामावलीको परिचय पत्र र नागरिकता पठाएको आयोगले डकुमेन्ट रुजु गरेर १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाएको कारागार प्रमुख रोकायाले बताउनु भयो ।
यस्तै डोल्पा जिल्लामा विभिन्न क्षेत्रमा कार्यरत मतदाता नामावली परिचय पत्र भएको ५ सय २६ जनाले मतदान गर्न पाउने भएका छन । कानुनले नै व्यवस्था गरेअनुसारको मतदाता परिचय पत्र भएका निजामती कर्मचारी,विभिन्न निकायका सुरक्षाकर्मी गरि ५ सय २६ जनाले डोल्पाबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।