दाङ । नेकपा एमालेले नै मुलुकको समृद्धि र विकास गर्ने, युवाहरुको भविष्य पनि एमालेकै सरकारले निर्माण गर्ने भन्दै शनिबार घोराहीमा ४ सय बढि युवाहरु एमालेमा प्रवेश गरेका छन् । अध्ययनका साथै विभिन्न पेशाव्यवसायमा आबद्ध युवाहरुको अत्यधिक सहभागिता रहेको कार्यक्रममा हल खचाखच भएपछि सयौ युवाहरु उभिनुका साथै कोठा बाहिरै बसेका थिए ।
घोराही पार्टी कार्यालयमा खचाखच प्रवेशीहरुले भरिएको सभाहलमा नेकपा एमालेका महासचिव शंकर पाख्रेलले टिका लगाएर सबैलाई एमालेमा स्वागत गर्नु भएको हो ।
राष्ट्रिय युवा संघ दाङले आयोजना गरेको कार्यक्रममा दाङ क्षेत्र नम्वर २ को संघीय उमेदवार समेत रहनु भएका पोख्रेलले एमालेमा सबै युवाहरुलाई स्वागत गर्दै अब बन्ने नेकपा एमालेको सरकारले युवाहरुका सबै खाले आशा, अपेक्षालाई पुरा गर्ने बताउनुभयो । मुलुकलाई समृद्धि र विकासको उचाईमा पु¥याउँदै युवाहरु स्वदेशमै बसेर काम गर्ने योजनाहरु बनाइने पोख्रेलको भनाइ थियो ।
नेकपा एमालेप्रति देशभर आकर्षण र विश्वास बढेको चर्चा गर्दैै पोख्रेलले जनताको विश्वासलाई एमालेले खेर जान नदिने बताउनुभयो । मुलुक पछिल्लो समयमा जजर अवस्थामा आएको र अहिलेको अवस्थाबाट मुलुकलाई माथि उकास्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औल्याउँदै महासचिव पोख्रेलले एमाले नै अहिलेको अवस्थामा राष्ट्रिय शक्ति बन्ने गरी अगाडी बढेको बताउनुभयो । युवा संघका अध्यक्ष देबु डिसीको अध्यक्षत्ता एवं एमाले महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हलमा नवप्रवेशीहरु खचखच भरिएपछि उहाँहरुलाई टिका लगाउन समेत अतिथिहरुलाई भ्याई नभ्याई परेको थियो ।
कार्यक्रमको सहजीकरण एमाले सचिव मनोहर बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रममा सहभागि अधिकांश युवाहरुले आफूहरुले अध्ययनका साथै विभिन्न पेशा व्यवसाय गरिरहेकाले नेकपा एमालेको नेतृत्वमा सरकार बने मात्र मुलुको भविष्य उज्जवल हुने देखेर एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए । अहिलेको अवस्थामा एमालेनै मुलुकको समृद्धि र विकासको नेतृत्व गर्न सक्ने, एमाले सरकारमा आएमा यहाँको अवस्थामा सुधार हुने बताएका थिए ।
कार्यक्रममा सहभागिहरुले एमाले महासचिव शंकर पोख्रेल मुख्यमन्त्री हुँदा दाङ स्थायी राजधानी घोषणा भएको, दाङको विकासको लागि अरबौ बजेट भित्राएको, थुप्रै दुरगामी महत्व राख्ने कामहरु गरेकोमा प्रशंशा गरेका थिए ।