olux

विकासका मुद्दा लिएर घरदैलोमा ब्यस्त बस्नेत

दाङ – मंसिरमा हुने आम निर्वाचनका लागि देशैभर उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्। मतदाताका घरघरमा गएर आफ्नो पक्षमा मत मागिरहेका छन्।

दाङ–३ ‘ख’ मा नेकपा एमालेका युवा नेता हुकुम बस्नेत भने अरुको भन्दा फरक शैलीमा मतदातामाझ प्रस्तुत भइरहेका छन्। उनले आफू निर्वाचित भइसकेपछि यस क्षेत्रको विकासका लागि गर्नसक्ने प्रतिबद्धता मतदातामाझ गरिरहेका छन्।

बस्नेतले जनताको विकासका लागि राजनीतिमा आबद्ध भएको बताए। बस्नेत राजनीतिभन्दा पनि बढी विकासका मुद्दा लिएर जनताको घरदैलोमा केन्द्रित भइरहेका छन्।

‘पश्चिम दाङको विकासका लागि नै मेरो उम्मेदवारी हो’, उनले भने ‘राजनीति धेरै भइसक्यो, अब मुलुकले विकास खोजेको छ। विकास नै मेरो प्राथमिकता छ।’

उनले आफू कुनै पनि स्वार्थपूर्ति गर्न राजनीतिमा नआएको बताउँदै युवाको नेतृत्व गर्दै विकास समृद्धिमा सक्रिय हुने बताए। भाषण गरेर झुट्टा आश्वासन बाँड्नुभन्दा पनि हरेक नागरिकको घरदैलोमा पुगेर समस्याहरु सुन्ने काम भइरहेको उनको भनाइ छ। दाङको विकासका लागि स्थानीयस्तरबाट मात्र सम्भव नभएको हुँदा प्रदेश र संघीय सरकारबाट पहल गर्ने योजना रहेको उनले सुनाए।

यहाँको विकासका लागि केन्द्रस्तरबाट नै पहल चाल्न आवश्यक देखिएको छ,’ उनले भने, ‘त्यसको लागि मेरोतर्फबाट पूर्ण पहल हुनेछ।’

उम्मेदवारी मनोनयनदेखि नै मतदाताहरुको घरदैलोमा बिहानदेखि साँझसम्म व्यस्त बस्नेत भाषणभन्दा पनि विकासमा मुद्दामा बढी ‘फोकस’ भएको उनीसँगै घर दैलोमा गइरहेका युवा नेता गोविन्द बस्नेत बताउँछन्। बस्नेतले सुरुदेखि आफूलाई प्रचारमा फरक शैलीमा प्रस्तुत गरिरहरको उनको भनाइ रहेको छ।

उनले कुनै जात, क्षेत्र भन्दा पनि समग्र दाङको विकासका लागि आफ्नो योजनाहरु प्रस्तुत गरिरहेको बस्नेतले बताए। बस्नेत प्रदेश सभा ‘ख’ का सबै वडामा एक चरणमा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस