डोल्पा, कात्तिक १६ गते । गएको महिना भएको एक हप्ते भारी वर्षाका कारण माथिल्लो डोल्पा जाने बाटोमा पर्ने विभिन्न पासहरुमा बाक्लो हिउँ जमेका कारण आउजाउमा समस्या रहेका कारण माथिल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन निकै चुनौति भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताउनु भयो ।
माथिल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे, छार्काताङसोङ गाउँपालिकाको छार्कामा पर्ने मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभइकन मतदान कर्मचारीहरु पठाउन नसकिने अवस्था रहेको सम्बन्धित सबैसँग खबर गरिसकिएको मुख्य निर्वाचन अधिकृृत सुवेदीले जानकारी दिनु भयो । यो विषय सुरक्षा समितिमा समेत छलफल भएर माथिल्लो निकायमा हेलिकोप्टर व्यवस्थाका लागि खबर पठाइसकिएको प्रमुख जिल्ला अधिकारी बेदनीधि अधिकारीले बताउनु भयो ।
जिल्लामा स्वच्छ निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा रहेको निर्वाचन टोली अहोरात्र खटिएको र सबै मतदान केन्द्रमा मतदाता आफैले मतदान गर्ने वातावरण निर्माणमा राजनीतिक दलहरुको ठुलो हात हुने भएका कारण उनीहरु पनि जिम्मेवार हुने र एजेन्टले मात्र स्वीकृत असहमति जनाएर खबर गरेमा त्यस्ता मतदान केन्द्रमा फेरी मतदान गराउने सम्मको व्यवस्था गराइने निर्वाचन टोलीले जनाएको छ । तर यसमा सम्बन्धित राजनीतिक दलहरु नै गम्भिर हुनु पर्ने जनाइएको छ ।
केही मतदान केन्द्रहरुमा मतदाता आफूले मतदान गर्न नपाउने तथा वारेसमा एक दुइ जनाले मतदान गर्ने गरेको हल्ला व्यापक भैरहेको अवस्थामा यसलाई रोक्न निर्वाचन टोलीले गम्भिर रुपमा विश्लेषण गरिरहेको सुरक्षा निकायका प्रमुखहरुले जनाउनु भएको छ । विशेष गरी माथिल्लो डोल्पाका धेरै मतदान केन्द्रमा वारेसमा थोरै जनाले छपाछप मतपत्रमा छाप लगाएर ल्याउने गरेको आरोप लाग्दै आएको छ । तर यस पटक त्यस्तो हुन नदिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।