डोल्पा, कात्तिक १२ गते । नेकपा(एमाले)को प्रचार प्रसार टोली ठुलीभेरी नगरपालिका वडा नं. २ लोचा पुगेको मौकामा त्यहाँका विभिन्न राजनीतिक दल परित्याग गरी ३५ जना स्थानीय एमाले प्रवेश गरेका छन् ।
हिजो चुनावी प्रचारका क्रममा एमाले प्रचार टोली लोचा पुगेको हो । लोचा पुगेका एमाले डोल्पाका अध्यक्ष एवम् कर्णाली प्रदेशसभा सदस्य निर्वाचन क का एमाले उम्मेद्वार शेरबहादुर बुढा, कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको उपस्थितिमा ३५ जना स्थानीयहरुले एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा एकिकृत समाजवादीका पूर्व जिला समन्वय समिति सदस्य देवीलक्ष्मी रोकाय, गएको स्थानीय निर्वाचनमा नगर उपप्रमुख उम्मेद्वार मेनुका भण्डारी, युवासंघ वरिष्ठ सदस्य दिनेश रोकाय, वडा कमिटी अध्यक्ष सुरेश रोकाय, वडा कमिटी सदस्यहरु हिक्कमत वि.क., छिरिङ् वि.क., तिर्खे वि.क., पूर्णबहादुर रोकाय, लालमया मिजार लगायत, नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्ने अर्जुन भण्डारी र रणबीर भण्डारी समेत गरी ३५ जना रहेको नेकपा एमाले प्रचार कमिटी डोल्पाले जानकारी दिएको छ ।
एकिकृत समाजवादी र नेपाली काँग्रेस परित्याग गरी नेकपा(एमाले) प्रवेश गर्ने सबैलाई नेकपा(एमाले) डोल्पाका अध्यक्ष शेरबहादुर बुढा र कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खादा अबिर लगाई पार्टीमा स्वागत गरेको जनाइएको छ ।