गठबन्धनले एमालेका बिरुद्ध गलत हल्ला फैलाइरहेका छन् – पाण्डे

दाङ । दाङ निर्वाचन क्षेत्र नं. ३ (१) नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले आफु बिरुद्ध गरिएका गलत प्रचार र भ्रममा नपर्न सबैलाई अपिल गर्नुभएको छ । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवार पाण्डेले जनताको मन जित्ने आफ्ना कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारहरुले निकृष्ट खालका आरोप लगाउने गरेको बताउँनुभयो ।

‘विगतमा कांग्रेसले कम्युनिष्टको सरकार बनेपछि ६० बर्ष पुगेकालाई गोली हान्छ । भात खान स्कुलमा थाल थापेर लाइन लाग्नुपर्छ । धर्म मान्दैन भनेर जुन गलत हल्ला फैलाएका थिए । त्यसैगरी अहिले पनि एमालेका बिरुद्ध गलत हल्ला फैलाइरहेका छन् । भ्रममा नपर्नुहोला ।’ पाण्डेले भन्नुभयो ।

सरकारमा आफु बस्ने र तुलसीपुर–घोराही सडक बनाएन भनेर अर्कालाई दोष दिने गठबन्धनका उम्मेदवारको कुरा, भ्रम हो भन्ने कुरा स्थानीय तहको निर्वाचनले पुष्टि गरेको पाण्डेले बताउनुभयो । गठबन्धनले भ्रमको खेति मात्रै गर्छ भन्ने कुरा तुलसीपुर र घोराही उपमहानगरमा एमालेको विजयी यात्राले पुष्टि गरेको बताउँदै सडक र नगरपालिकाको एजेण्डा डेट एक्सपायर एजेण्डा भएकाले अधुरा योजना आफुले पुरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस