बिधुतको मुहान र पाईपमा पहिरो खस्दा बिधुत अबरुद्ध दुनै लगाएतका क्षेत्र अन्धकार

असोज २७, डोल्पा । डोल्पाको सदरमुकाम दुनै लगाएतका आसपासका गाउँहरुमा एक हप्ता भन्दा बढि दिन देखि अन्धकार भएका छन । नेपाल विधुत प्राधिकरण दुनै वितरण केन्द्रले उत्पादन गरि वितरण गर्दै आईरहेको जैरी गार्ड विधुत पावर हाउसको मुहान जैरीगार्ड खोलामा केहि दिन अघि परेको अविरल बर्षाले बाढि आएपछि पुरै मुहान ढुंगाले पुरेको र पावर हाउस तिर पानी पास गर्ने पाईप माथि पहिरो खसी पाईप नै फुटेको कारण यहि असोज १८ गते देखि बिधुत बन्द भएको थियो ।

लामो समय देखि हरेक बर्ष बर्षादको समयमा बाढि पहिरोको कारण दुनै लगाएत आसपासका नागरिकहरुले अन्धकारमा बस्ने समस्या दिर्घ रोग जस्तै भएको छ । मेसिन खराबीका कारण एक दिन दुनै बजार र एक दिन जुफाल बजार लगाएत आसपासका गाउँहरुमा पालो गरेर विधुत वितरण गर्दै आईरहेको नेपाल विधुत प्राधिकरण दुनै वितरण केन्द्रले नागरिकलाई खासै सेवा दिन सकेको छैन ।

नेपालीहरुको महान पर्व विजय दशमी अन्धकारमय वातावरणमा मनाउनुको पिडा त छदैछ एउटा मोवाईल चार्ज गरेको १०० रुपैया तिर्नु पर्ने बाध्यता पनि रहेको स्थानिय बिर्ख शाहीले बताए । जैरीगार्ड विधुतमा समस्या हुदा दुनै बजारमा ईमेल ईन्टरनेट फोटोकपी लगाएतका विधुतीय कामकाज गर्दा महगो शुल्क तिर्नु पर्ने बाध्यता रहेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन । चुनावको मुखैमा लामो समय सदरमुकाम जस्तो ठाउँ अन्धकार हुदा पनि कुनै पनि नेतृत्वलाई चासो नहुनु दुखद कुरा रहेको स्थानीयको भनाई छ ।

जैरीगार्ड पावर हाउसको मुहानको मुखमा बाढिले भरेको ढुंगा विधुत प्राधिकरणका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले हटाउने काम सकिएको अव पहिरोले फुटेको पाईप मर्मतका लागि ठुलीभेरी नगरपालिकाले शुक्रबार स्काभेटर(डोजर) पठाउने कुरा भएकाले शनिवार वा आईतबार सम्म विधुत पुन संचालनमा आउने नेपाल विधुत प्राधिकरण दुनै वितरण केन्द्रले जनाएको छ । लगातारको बर्षाले खोला बढेर बाढि पहिरो आएको कारण मर्मत कार्यमा अलि ढिला भएको प्राधिकरणले जनाएको छ । बुधबार ठुलीभेरी नगरपालिका प्रमुख शुवर्ण कुमार बुढा,जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया लगाएतको टोलीले विधुतको अनुगमन गरेका थिए । जैरीगार्ड पावर हाउस बाट उत्पादीत विधुत सदरमुकाम दुनै बजार लगाएत ठुलीभेरी नगरपालिकाका विभिन्न गाउँ र त्रिपुरासुन्दरी नगरपालिका भित्रका विभिन्न बस्तीहरुमा वितरण हुदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस