डोल्पाबाट प्रतिनिधि सभा सदस्यको लागि ५ जना चुनावी मैदानमा,कस्ले मार्ला बाजी

डोल्पा – आगामी मंसिर ४ हुने प्रतिनिधि सभा सदस्यको लागि डोल्पा जिल्लाबाट ५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । मुख्य निर्वाचनको कार्यालय डोल्पाले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै प्रतिनिधि सभा सदस्यको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पा जिल्लाबाट पाँच वटा राजनितिक दल र एक स्वतन्त्र गरि पाँच जना विच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सयूक्त गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री धन बहादुर बुढा, नेकपा एमाले तर्फबाट गणेश बहादुर शाही,राष्ट्यि प्रजातन्त्र पार्टीको तर्फबाट अंगत कुमार बुढा,नेकपा माक्र्सवादी(पुष्पलाल) को तर्फबाट हर्कबहादु ठकुल्ला र स्वतन्त्र बाट बिर बहादुर रोकाया गरि पाँच जनाले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गरि अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचनको कार्यालय डोल्पाले जनाएको छ । प्रतिनिधि सभा सदस्यको लागि डोल्पाबाट ६ जनाको उम्मेदवारी दर्ता भएतापनि नेकपा एमाले केन्द्रीय सदस्य वद्मी क्वारी बोहोराले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएपछि अव प्रतिनिधि सभा सदस्यको लागि ५ जना चुनावी मैदानमा जाने भएका छन ।

गठबन्धनबाट उम्मेदवार बनेका धन बहादुर बुढा २०७० र २०७४ सालको प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले बाट बिजयी भई पर्यटन राज्य मन्त्री बनेका थिए । बुढा एमाले विभाजन पछि एकीकृत समाजवादी तिर लागेका हुन ।

यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश बहादुर शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा ठुलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेको तर्फबाट बिजयी भएका थिए । एमाले विभाजनमा नेकपा एकीकृत समाजवादी पार्टी राजेका शाही पुनः एमालेमा फर्किएर एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन ।

२०७० को निर्वाचनमा एमालेबाट टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका अंगद कुमार बुढा एमालेका उम्मेदवार धन बहादुर बुढा संग पराजित भए । पराजित पछि नेपाली कांग्रेस प्रवेश गरी सभापती समेत भएका अंगतद कुमार बुढा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार धन बहादुर बुढा संग दोस्रो पटक पराजित बने नेपाली काग्रेसमा गुटबन्दी भएको भन्दै राष्ट्यि प्रजातन्त्र पार्टी प्रवेश गरेका अंगद कुमार बुढा आगामी मंसिर ४ गतेको लागि राप्रपा को तर्फ बाट उम्मेदवार बनेका छन ।

नेकपा माक्र्सवादी(पुष्पलाल)को तर्फबाट हर्क बहादुर ठकुल्लाले उम्मेदवारी दर्ता गरेका छन । ठकुल्ला यस अघिका निर्वाचनमा पनि उम्मेदवारी दर्ता गर्ने गरेका थिए । यस्तै गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ठुलीभेरी नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा पराजित बिर बहादुर रोकायाले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन । यस अघिका विभिन्न निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दर्ता गर्ने रोकायाले यस पटक स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन ।

डोल्पा जिल्लाको समसमायिक राजनितिक अवस्था हेर्ने हो भने गठबन्धनका उम्मेदवार धन बहादुर बुढा, नेकपा एमालेका उम्मेदवार गणेश बहादुर शाही र राप्रपा का उम्मेदवार अंगद कुमार बुढा विच प्रतिस्पर्धा हुने देखिएको छ । हाल सम्म प्रतिनिधि सभा सदस्यको लागि गणितिय हिसावले हेर्ने हो भने गठबन्धनका उम्मेदवार धन बहादुर बुढा अगाडी देखिन्छन तर गठबन्धन भित्र पनि घात हुने हो भने सैद्धान्तीक मतका आधारमा नेकपा एमाले पनि कडा प्रतिस्पर्धामा रहेको देखिन्छ । यस्तै एमाले कांग्रेस पार्टीको प्रमुख बनी संगठन विस्तार गरेको आधारमा र केहि व्यक्तीगत मतका आधारमा राप्रपाका उम्मेदवार अंगद कुमार बुढा पनि राम्र्रै मत ल्याउन सक्ने बिष्लेशकहरुले बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस