आधुनिक नेपाली पत्रकारिताका ‘आइकन’ भण्डारी प्रधान सम्पादकमा नियुक्त

काठमाडौं । आधुनिक नेपाली पत्रकारिताका ‘आइकन’ अखण्ड भण्डारी अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा नियुक्त भएका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्कले भण्डारीलाई अन्नपूर्ण पोस्ट्को सम्पादकबाट नेपाली पत्रकारिताको सर्वोच्च पद प्रधान सम्पादकमा पदोन्नती गर्ने निर्णय गरेको छ ।

पच्चीस वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका प्रधान सम्पादक भण्डारी ४ वर्षदेखि अन्नपूर्ण पोस्ट्मा आबद्ध छन् । उनले करिब साढे २ वर्ष सम्पादकीय नेतृत्व सम्हालिसकेका छन्। त्यसअघि उनी कान्तिपुर दैनिकका क्रियटिभ एडिटर थिए ।

उनको ‘समाचारको भाषा’ पुस्तक पत्रकार, पत्रकारिताका शिक्षालय र लेखन समुदायमा लोकप्रिय छ। भण्डारी पत्रकारिता तथा आमसञ्चारमा एमफिल–पीएचडी गर्दै छन्। उनी चर्चित उपन्यास ‘मलाया एक्सप्रेस’ का लेखकसमेत हुन् ।

अन्नपूर्ण पोस्ट्लाई जनताको सूचनाको अभिरुचिपूर्ण स्रोत, पृथक् प्रस्तुति र खोज पत्रकारिताको नयाँ आयामका रूपमा भण्डारीको नेतृत्वले विकास गर्न सफल भएको नेटवर्क व्यवस्थापनले जनाएको छ ।

देशका कुनाकन्दराका, छायामा परेका हरेक समाचारलाई सम्पूर्ण तह र तप्कामा बसोबास गर्ने जनतासम्म पु¥याउने र जनजीविकाका हरेक मुद्दालाई सरोकारवालाहरूको ध्यानाकर्षण गराउने पत्रिकाका रूपमा अन्नपूर्ण पोस्ट् स्थापित छ ।

अध्यक्ष, अन्नपूर्ण मिडिया नेटवर्क क्याप्टेन रामेश्वर थापाले निर्वाचन, सुशासन, समृद्धि र सामाजिक सचेतनामा अन्नपूर्ण पोस्ट्का समाचार तथा विचार र प्रत्येक चिजहरूमा नवीनता एवं नवप्रवर्तन साथमा अगाडि रहेको छ । यस उद्देश्यलाई अझ प्रभावकारी बनाउन समूहलाई अझ क्रियाशील र संस्थालाई थप सक्षम बनाउने सिलसिलाकै रूपमा २५ वर्षभन्दा बढीदेखि सशक्त पत्रकारिता र प्रभावकारी सम्पादन गर्दै आएका यस अन्नपूर्ण पोस्ट् दैनिकका सम्पादक अखण्ड भण्डारीलाई आजको दिनदेखि नै प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ। यस दैनिकलाई नयाँ उचाइमा लैजाने उनको र उनको टिमको कार्यलाई यस नयाँ जिम्मेवारीले थप प्रोत्साहन गर्नेछ भन्ने हामीले विश्वास लिइएको छ ।

‘आजको डिजिटल युगमा प्रिन्ट मिडियाको आयतन अल्लि घटे पनि यसको ओज भने झन् बढ्दै गएको हाम्रो बुझाइ छ’, क्याप्टेन थापाले प्रधान सम्पादक भण्डारीलाई बधाई दिदैं प्रकाशकीय शुभकामनामा भनेका छन्, ‘विश्वसनीय पत्रिकाको पर्याय अन्नपूर्ण पोस्ट्लाई यहाँहरूले निरन्तर प्रेम तथा प्रतिक्रियाको ऊर्जा प्रदान गरिरहनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस